सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गर्‍यो : भुवन केसी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गर्‍यो : भुवन केसी


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले बोर्डले आवश्यक ठानेर पठाएको मागको बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन्।

उनले नेपाली चलचित्र प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए।

उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउन बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए।

उनले भने, ‘नेपाली चलचित्र प्रवर्द्धनका स्टुडियो आवश्यक छ। एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियोको अवधारणा आयो, त्यो सुनेर हामी हर्षित भयौँ, एउटा काभ्रे र अर्को दोलखाको। अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो तर त्यसमा १ प्रतिशत मात्रै आयो।’

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रूपमा छलफल गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस