ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा


१८ जेष्ठ २०८०, बिहिबार


दमौली । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् ।

नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घण्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उक्त कम्पनीले नगरपालिकाअन्तर्गतका तीन सडक कालोपत्रको ठेक्का पाएको छ ।

ठेक्का सम्झौता भएर काम नभएपछि बाध्य भएर पत्र काट्नुपरेको पौडेलले बताए । उनले भने, ‘ठेक्का लिएर लामो समयसम्म काम नगर्ने, ठेक्का ओगटेर बस्ने प्रवृत्तिका विरुद्ध नगरपालिका कडाइका साथ लाग्छ, सम्झौता योजनालाई समयमै सम्पन्न गराउनेतर्फ नगरपालिका प्रतिबद्ध छ ।’

उक्त निर्माण कम्पनीले नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको भानु जन्मस्थल मोटर मार्ग, कालीमाटी-माने चौका-कुञ्छा मोटर मार्ग र रातमाटा–राइपाली–भञ्ज्याङ मोटर मार्गको कालोपत्रको ठेक्का पाएको छ । गत वर्ष नै काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि लापरबाहीका कारण काम हुन सकेको छैन ।

कम्पनीका सञ्चालक माधव घिमिरेले कम्पनीमा धेरै ठेक्का भएकाले आवश्यक जनशक्तिको अभाव र अन्य व्यवस्थापकीय समस्याले गर्दा काममा ढिलासुस्ती भएको बताए । उनले आगामी मङ्गलवारबाट काम सुरु गरी चालु असार मसान्तसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाले उक्त कम्पनीसँग भानु जन्मस्थल मोटर मार्गको एक करोड ७७ लाख ४७ हजार नौ सय ७३, कालिमाटी-माने चौका–कुञ्छा मोटर मार्गको एक करोड १७ लाख ५५ हजार दुई सय ५७ र र रातामाटा-राईपाली-भञ्ज्याङ मोटर मार्गको एक करोड ८३ लाख १५ हजार तीन सय दुईमा सम्झौता गरेको थियो ।

समयमै काम सम्पन्न गर्नु निर्माण कम्पनीको दायित्व भएको र मौखिकरुपमा पटक पटक अनुरोध गर्दा अटेर गरिएपछि बाध्य भएर पत्र काट्नुपरेको नगर उपप्रमुख उमा गोतामेले बताए ।

ठेक्का सम्झौता भएर काम नहुँदा घाम लाग्दो धुलो र पानी पर्दा हिलोले सर्वसाधारण मर्कामा छन् । नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विकास योजनामा लापरबाही हुन नदिन नगरपालिकाका प्रतिबद्ध रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस