नागरिकता विधेयकलाई भारत भ्रमणसँग जोड्नु हास्यास्पद : काँग्रेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयकलाई भारत भ्रमणसँग जोड्नु हास्यास्पद : काँग्रेस


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसले नागरिकता विधेयक प्रमाणीकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणसँग नजोड्न आग्रह गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकता विधेयकको सम्बन्ध भारत, चीनसहित कुनै पनि मुलुकसँग नभएको बताए ।

“सन्दर्भ परेको होला वा मिलेको होला । तर, यो नागरिकता विधेयक भारतसँग वा कुनै पनि देशसँग सम्बन्ध वा सरोकार नै राख्दैन । तर, हामी नेपालीहरू हावा र हल्लामा अगाडि बढ्ने भएकाले नागरिकता विधेयकले छिमेकी कुनै पनि मित्र राष्ट्रसँग केही पनि सम्बन्ध राख्दैन,” उनले भने, “किनभने यसमा अङ्गीकृत नागरिकताबारे बोलिएकै छैन । वैवाहिक अङ्गीकृतको विषयमा पनि बोलेको छैन, केही लेखेको छैन । नलेखेको कुरा मात्र चर्चा भएको हो । जे लेखेको छ, त्यसको विषयमा चर्चा नै भएको छैन ।”

उनले नागरिकता विधेयकमा भएका सकारात्मक विषयको चर्चा नभएको पनि बताए । “गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकारसहितको नागरिकता दिने विषय छ । यसको महत्त्वको विषयमा हामीले चर्चा गरेनौँ । बाबुको ठेगान नभएको एकल आमासँग भएको सन्तानको नागरिकताको विषयमा लेखेका छौँ । त्यसको बारेमा किन बोलिँदैन ? त्यस कारण यो नागरिकता विधेयक भारत वा चीनसँग जोड्यौँ भने हास्यास्पद हुने छ,” उनले भने ।

विश्वकर्माले एमालेले ल्याएको अध्यादेशमा कुनै परिवर्तन नगरेर विधेयक ल्याइँदा पनि अनावश्यक प्रश्न उठाइएको जनाइएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस