सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९ सय २० उजुरी दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९ सय २० उजुरी दर्ता


१५ जेष्ठ २०८०, सोमबार


मलङ्गवा । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरी परेका साहुकारहरूलाई मङ्गलवारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

‘मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए’, उनले भने ।

सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन अर्थात् मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले वैशाख २० गते यहाँका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस