सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई काँग्रेसको पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई काँग्रेसको पत्र


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले माओवादी केन्द्रलाई वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन लिखित पत्र बुझाएको छ ।

जेठ ४ गते बसेको काँग्रेस प्रदेश संसदीय बैठकको निर्णय अनुसार दलका नेता उद्धव थापाले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मङ्गलवार पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनले सङ्घीय गठबन्धन अनुसार सरकार गठनको वातावरण बनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति निर्वाचन (२५ फागुन)सँगै संघमा १० दलिय गठबन्धनको सरकार बनेको छ । प्रदेशहरूमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धन दलको नेतृत्वमा सरकार बनेको छ ।

कोशी प्रदेशमा भने माओवादी केन्द्र र जसपाको समर्थनका कारण एमाले नेतृत्वको सरकार टिकिरहेको छ । सरकार छाड्न मौखिक आग्रह गर्दा माओवादी र जसपाले नमानेपछि काँग्रेसले लिखित पत्र पठाएको हो।

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले पठाएको पत्रमा भनिएको छ, ‘संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धन अनुसार नै सरकार गठन भैसकेको अवस्थामा गठबन्धन दलहरूको मर्म र भावना अनुरूप कोशी प्रदेशमा सङ्घीय गठबन्धन अनुरूप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरूबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको निर्णय बमोजिम तपाइंहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरूको सरकार निर्माण गने वातावरण तय गर्नुहुन आग्रह गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस