यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे


३ जेष्ठ २०८०, बुधबार


दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित विमल नगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि यातायातका सेवा प्रविधिमैत्री बनाइने जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा सेवा प्रभावित हुन नहुने बताउँदै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको बताए ।

आफूले मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

सो क्रममा उनका सेवाग्राहीसँग कुरा गर्दै कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखेका थिए । कार्यालयका निमित्त प्रमुख रामप्रसाद शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यालयले विमल नगरबाट सेवा प्रवाहका लागि एक घर पाँच वर्षका लागि भाडामा लिएको छ । कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ ।

जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमति पत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस