बयानका लागि खाँणलाई सरकारी वकिल कार्यालयमा लगियो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बयानका लागि खाँणलाई सरकारी वकिल कार्यालयमा लगियो


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ ।

काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाँणलाई बयानका लागि प्रहरीले केही बेरअघि सरकारी वकिल कार्यालयमा लगेको हो ।

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । 

यसअघि आइतबार खाँणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान सकिएसँगै पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन् ।

त्यस्तै, उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस