अब बैंकले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्ने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब बैंकले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्ने 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाहरूले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्ने भएका छन् । प्रवाह भएको ऋण (कर्जा)मा ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ ।

पछिल्लो तीन महिनाको आधार दर अनुसार मासिक रूपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि त्रैमासिक रूपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

यसको अर्थ अब बैंकहरुले जेठ महिनामा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नेछन् । राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्नेछ । यसअघिको व्यवस्थाअनुसार भने साउनमा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने थियो । बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधार दर पनि घट्दो क्रममा छ, यसले ऋणीलाई ब्याजदर महिनैपिच्छे घट्न गई राहत पुग्छ ।

पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि गरिएको छ । जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ । तर आधार दर बढ्दो क्रममा रहेको अवस्थामा भने महिनैपिच्छे ब्याजदर बढ्न सक्ने जोखिम पनि रहन्छ । यो व्यवस्था स्थिर ब्याजदरमा ऋण लिएकाहरूको हकमा भने लागू हुने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस