दोस्रो विश्वयुद्धमा डुबेको जहाज ८० वर्षपछि फेला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दोस्रो विश्वयुद्धमा डुबेको जहाज ८० वर्षपछि फेला


९ बैशाख २०८०, शनिबार


एजेन्सी । दोस्रो विश्वयुद्धमा झण्डै एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी पानीजहाज ८० वर्षपछि फेला परेको छ ।

यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो । जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराएको थियो। तर, अमेरिकी पनडुब्बी जहाजले टर्पेडो प्रहार गरी जहाज डुबाइदिएको थियो ।

मोन्टेभिडिओ मारु नामक सो जहाज जुलाई १९४२ मा फिलिपिन्सनजिकै डुबेको थियो । अमेरिकी टर्पेडोले लागेपछि जहाज तीव्र गतिमा डुबेको थियो । यो ११ मिनेटभित्रै समुद्रभित्र डुबिसकेको थियो । त्यतिबेलासम्म जम्मा तीन वटा लाइफबोटमा १०२ जना जापानीहरुको मात्र उद्धार भएको थियो ।

सो पानीजहाज डुब्दा मृत्यु हुनेहरूमा ९ सय ७९ अस्ट्रेलियाली, ३३ नर्वेली नाविक र २० जापानी गार्ड तथा चालक दलका सदस्य थिए । यसको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाको साइलेन्ट वल्ड फाउन्डेसनले गरेको थियो । जहाजका भग्नावशेष समुद्रमा स्वचालित रूपमा खोजी कार्य गर्ने वाहनले फेला पारेको हो । जहाज ४ हजार मिटरको गहिराइमा फेला परेको बताइएको छ । जुन टाइटानिकको भग्नावशेषभन्दा गहिरो स्थानमा फेला परेको हो ।

यो भग्नावशेषलाई नचलाइने र मृतकका फेला परेका अवशेष र सरसामान पनि ननिकालिने साइलेन्ट वल्डले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले यो खोजबाट मृतकका आफन्तहरूमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस