स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन


९ बैशाख २०८०, शनिबार


दोधार चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ ।

नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर कक्षा १, २ र ६ को पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो । संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म पढाइ हुने गरी पाठ्यपुस्तक लागू गरेको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए ।

‘यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति पर्वको बारेमा पुस्तकमा समेटिएको छ’, उनले भने, ‘यसले यहाँको पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने छ’, नगरपालिकाले यसै शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत विद्यालय पाठ्यपुस्तक लागू गर्न लागेको हो ।


नगरपालिकाले प्रकाशनमा ल्याएको कक्षा १, २ र ६ को पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकीयस्थल, धार्मिक सम्पदा र परम्परागत पर्वको विषय समावेश गरिएको छ । पाठ्यपुस्तकमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गे पुल, विष्णुधामलगायत यस क्षेत्रका ऐतिहासिक क्षेत्र समेटिएका छन् । त्यसैगरी यहाँका मौलिक पर्वको बारेमा समेत विषयवस्तु राखिएको छ ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतवनधुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताए । ‘स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीयस्तरका भाषा, संस्कृति, कला र सम्पदाबारे विद्यार्थी परिचित हुन्छन्’, उनले भने, ‘यसले विद्यार्थीमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ’, उनले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताए ।

त्यसैगरी शिक्षक कविराज भट्टले स्थानीय पाठ्यक्रमले विद्यार्थीमा स्थानीय संस्कृतिको बारेमा ज्ञान हुने भएकाले संस्कृति पुस्तान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। ‘विद्यार्थीले आफ्नो समाजमा भएका ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदाको बारेमा जानकारी पाउँछ’, उनले भने, ‘यसले विद्यार्थीलाई आफ्नो समाजप्रति जिम्मेवार बनाउँछ’, भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी एक सय २७ विद्यार्थी छन् । जसमध्ये कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीको सङ्ख्या २५ हजार रहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस