खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर


६ बैशाख २०८०, बुधबार


खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा, दन्त रोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिए ।

‘गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो’, उनले भने, ‘नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ ।’ शिविरमा आवश्यक औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । शिविरमा आउन तथा फर्किन गाउँपालिकाले सेवाग्राहीलाई बसको समेत व्यवस्था गरेका थियो । शिविर सञ्चालन गर्न काठमाडौँ मेडिकल कलेजबाट २६ चिकित्सकको टोली बाक्सिला आएको थियो ।

यसैबीच केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाडौँ मेडिकल कलेज(केएमसी) मा उपचार गराउँदा छुट पाउने भएका छन् । गाउँपालिकाको आग्रहमा काठमाडौँ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो । अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने, महाप्रबन्धक नारायणप्रसाद दाहाल, गाउँपालिकाका अध्यक्ष राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुटलगायत सात बुँदे सम्झौता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस