किन भयो मह उत्पादनमा कमी ? « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

किन भयो मह उत्पादनमा कमी ?


५ बैशाख २०८०, मंगलबार


घोराही । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।

पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभाबी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको घोराही उपमहानगरपालिका–१६ सर्रामा २०६१ सालदेखि नियमित रूपमा मौरी पालन गर्दै आएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताए ।

‘पछिल्ला वर्षहरूमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती थपिएको छ’, उनले भने, ‘पर्याप्त स्रोत पुर्‍याउन मौरीमय बिरुवा रोपणमा ध्यान दिनुपर्ने बेला भएको छ । मौरी पालनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरूको स्रोतको विकास हुनुपर्छ ।’ दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको उनको भनाइ छ ।

नेपाल मौरी पालक महासङ्घ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको महासङ्घले जनाएको छ । पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरी पालक किसान मारमा परेको २० वर्षदेखि मौरी पालन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका चेतमान भण्डारीको भनाइ छ ।

मौरी पालनमा लाग्ने खर्चको अनुपातमा लगानी उठाउन निकै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । मौरी पालक किसानका समस्याका बारेमा राज्य गम्भीर हुन नसकेको किसानको दुखेसो छ । अझै पनि राज्य र आम नागरिक वर्गमा मौरी पालक किसानले महकै लागि मात्रै पालेका हुन् भन्ने बुझाइले समस्या थपिएको उनीहरूको अनुभव छ । मौरीले महको स्रोतबाट २० प्रतिशत महका लागि र ८० प्रकृति संरक्षणका लागि योगदान हुने गरेको दाबी गर्छन् घोराही–१७ गुलरियामा १७ वर्षदेखि मौरी पालन गर्दै आएका मदन न्यौपाने ।

दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ । बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय मह बजार पाउन समस्या भएको छ ।

यसै पनि गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ । नेपाल मौरी पालक महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले पहाडी क्षेत्रमा उत्पादन हुने मह आफैँमा अर्ग्यानिक हुने तथा कुनै पनि शुद्ध मह जम्ने हुँदा शुद्ध पहिचान गरेर खरिद गर्न आग्रह गर्छन् ।

यो पटक असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगार्‍यो । हिउँदमा पानी परेन । गोभी तोरी भएन ।

६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एक सय ५० माहुरी पालक महासङ्घ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन् । गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष पनि सय टन बढी मह मौज्दात छ ।

दाङमा आधुनिक एपिस मेलिफेरा, स्थानीय एपिस सेरेना, खागोलगायत जातका मौरी पालन हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस