सिन्दूरले रङ्गियो मध्यपुर थिमी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सिन्दूरले रङ्गियो मध्यपुर थिमी


२ बैशाख २०८०, शनिबार


भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ ।

अगाडि हात हातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ-आफ्नो टोलका देवी-देवतालाई विराजमान गराइएका खट बोकेर टोल-टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे । आज मध्यपुर थिमीका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीका बासिन्दाले आज बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी टोल-टोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणमा २६ देवी-देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

थिमिमा मात्र मनाइने यो जात्रामा एक-अर्कालाई सिन्दूर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हात-हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । केही वर्षयता भने २६ खट मात्रै जात्रामा सहभागी हुने गरेका छन् ।

जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण वाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो ।

जात्रा सुरु भएपछि पमाहरू हात-हातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागत रूपमा मनाउने गरिन्छ । अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक स्थानमा खट जात्राका साथ सिन्दूर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिण वाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धि गणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोल-टोलमा सिन्दूर खेल्दै जात्रा मनाइन्छ ।

जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक-अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा पनि भनिएको हो ।

बालकुमारीबाट परम्परागत रूपमा सिद्धि गणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको थियो ।

परम्पराअनुसार देवता लायकु दरबारभित्र पस्न नपाउन् भनेर लायकु प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।

अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगा द्यो, क्वाछे द्योमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाइएको छ ।

यस वर्ष वैशाख २ गते शनिबार परेकाले यहाँको खटसहितको जात्रालाई शङ्खधर चोक हुँदै सूर्य विनायक नगरपालिका-५ स्थित दक्षिण वाराही मन्दिरमा समेत लगिएको छ ।

धेरै वर्षपछि वैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण वाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुर थिमीका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

वैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस् भनेर दक्षिण वाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउँछन् । आजको जात्रा मध्याह्नसम्म चल्ने र यो जात्रा समापन भएपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस