जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन


३० चैत्र २०७९, बिहिबार


पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्या आकस्मिक कक्ष (आइसीयू) र सात वटा भेन्टिलेटर रहेका छन् । तर भेन्टिलेटर आवश्यक परेका बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन नसकेका हुन् ।

गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म एक जना बिरामीको उपचार गर्न पाइएको छैन ।

तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । तीन जना डाक्टर र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउनै नपाएको हो ।

पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यो क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणा अधिकारीले बताइन् ।

भेन्टिलेटर सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डा अधिकारीले बताइन् । एउटा भेन्टिलेटर चलाउन त्यो फाँटको एक जना छुट्टै चिकित्सक, एक एनेस्थेसियालोजिस्ट, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीको आवश्यकता पर्ने उनको भनाइ छ ।

सात वटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एक जना पनि नहुँदा समस्या भएको उनले बताइन् । अहिले २४ जना नर्सले सिङ्गो अस्पताल चलाउनुपरेको डा अधिकारीले बताइन् । ‘पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ, त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन’, उनले भनिन् ।

कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झन्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेला–बेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको उनले बताइन् ।

स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका चिकित्सक पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने निमित्त मेसु डा.अधिकारी बताइन् । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक-पटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताइन् । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ ।

अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । ‘हामीसँग स्रोत भएर के गर्नु ? प्रदेश सरकारले आफ्नो सर्भे सकेर सबैभन्दा पहिले ५० शय्या क्षमताको अस्पतालको अनुमति अझै दिएको छैन । यहाँका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?’

पर्वत हुँदै पोखरा जानुपर्ने भएकाले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकलाई सेवा दिने गरी यसलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सक्ने हो भने यो क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य पाउने उनले बताइन् ।

भेन्टिलेटर प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताए । हाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रियाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको दुई करोडबाट सामग्री किनिएका थिए । त्यही बेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । ‘सबै भयो जनशक्ति भएनन्, यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ?’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस