कृषि क्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि क्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले वर्तमान समयमा कृषि क्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पारेका छन् ।

कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन (एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी (युएसए आइडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रूपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषि क्षेत्र अछुतो रहन नसक्ने बताएका हुन् ।

सरकारले विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएका डिजिटल नीति कृषि क्षेत्रमा पनि लागू गरेको र विस्तार हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘करिब दश लाख किसान डिजिटल कृषिमा सूचीकृत भएका छन् । तीन तहबीच समन्वय गरी साना किसानको पहुँचका लागि मन्त्रालय प्रयासरत छ ।’

कुल ७३ प्रतिशत किसानले स्मार्ट फोनको प्रयोग गर्नु कृषि क्षेत्रको प्रवर्द्धनका लागि सुनौलो अवसर रहेकाले यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गरी उत्पादकत्व वृद्धि गर्न सकिने उनले बताए । किसानका मूल्य निर्धारण, बीउ विजन, मल, अनुदान, वातावरणीय जोखिमलगायतका समस्यालाई डिजिलाइजेशनले न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयन गर्न तीन तहबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले किसानलाई इन्टरनेटको पहुँचमा विस्तार गरी उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता रहको बताए । उनले भने, ‘कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकेको नैराश्यता हटाउन डिजिटलाइजेशले महत्त्वपूर्ण टेवा पुर्‍याउँछ । किसानको पहुँचमा अभिवृद्धि गरी यसको विस्तार गर्नु आजको आवश्यकता हो ।’ डिजिटलाइजेशलने खाद्य सम्प्रभुताको जोखिमलाई न्यूनीकरणमा मद्दत गर्ने उनको भनाइ छ ।

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले नेपालमा डिजिटलाइजेशनको विद्यमान अवस्थाबारे प्रस्तुत गर्दै किसानको सूचीकरणको विस्तारमा मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।

किसानको मुख्य समस्या उत्पादनको मूल्य निर्धारण रहेकाले प्रविधिमा आबद्ध गराई सही सूचना प्राप्त गराई समस्यामुक्त गर्न मन्त्रालयले पहल गरिरहेको उनको भनाइ छ ।

खाद्य तथा कृषि सङ्गठन (एफएओ)का प्रतिनिधित्व केन सिमिजुले कृषि क्षेत्रमा युवाको सहभागिता आवश्यक रहेको बताए । विश्वव्यापीरुपमा कृषिलाई प्रविधिमैत्री बनाउन युवाको ठूलो सहयोग हुने उनको भनाइ छ । मन्त्रालयले ‘एग्रिकल्चर फ्रेम वर्क’ कार्यान्वयनलाई प्रभावकारी गराउन विभिन्न सरोकारवाला पक्षबीच छलफल गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस