सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव पेस गर्नुपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव पेस गर्नुपर्ने


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । हेडमास्टर बन्न अब प्रस्ताव पेस गर्नुपर्ने भएको छ। पोखराका स्कुलहरूमा कम्तीमा एक वर्ष र बढीमा तीन वर्षका लागि विद्यालय विकास योजना पेस गरेका शिक्षकलाई हेडमास्टर बनाउने निर्णय महानगरले गरेको छ।

पोखरा महानगरको नगर शिक्षा परिषद् र शिक्षा समितिको चैत २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। हेडमास्टर बन्न उत्कृष्ट प्रस्ताव पेस गरेका शिक्षकलाई नियुक्ति दिन बैठकले समितिसमेत गठन गरेको छ।

महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा टेकराज अधिकारी, डोलराज पाण्डे, नवराज पौडेल, कृष्णबहादुर नेपाली र रवीन्द्र भट्टराई सदस्य छन्। उनीहरूले हेडमास्टर बन्न प्रस्ताव पेस गरेका शिक्षकलाई नियुक्त गर्न महानगरलाई सिफारिस गर्न सक्नेछन्। यस्तै, हेडमास्टरको सेवा सुविधा पनि सिफारिस गर्न समितिलाई कार्यादेश दिएको छ।

महानगरका अनुसार अहिले भइरहेका हेडमास्टरले पनि विद्यालय विकास कार्यक्रमका योजना पेस गर्न पाउने छन्। यस्तै, हेडमास्टर बन्न योग्यता पुगेका अन्य शिक्षकलाई पनि उक्त प्रस्ताव पेस गर्न आह्वान गरेको छ। अहिले भइरहेका हेडमास्टर र शिक्षकले उपयुक्त प्रस्ताव पेस नगरे शैक्षिक योग्यता पुगेका अन्य व्यक्तिले पनि १ वर्षदेखि ३ वर्षका लागि हेडमास्टर बन्न प्रस्ताव पेस गर्न सक्ने महानगरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस