उपसचिव र अधिकृतलाई एक महिनाभित्र विवरण अद्यावधिक गर्न निर्देशन ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपसचिव र अधिकृतलाई एक महिनाभित्र विवरण अद्यावधिक गर्न निर्देशन !


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ ।  राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । 

कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि कितावखानाले यस्तो सूचना जारी गरेको हो । धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय कितावखानाका  महानिर्देशक डा. टोकराज पाण्डेले बताए ।  

निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको महानिर्देशक पाण्डेको भनाई छ। 

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ । धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको कितावखानाको भनाइ छ ।  

विवरण अद्यावधिक गर्न कितावखानाको बेवसाइडमा रहेको इमेल मार्फत वा स्वयं कागजात लिइ पुलचोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने कितावखानाले जनाएको छ । 

हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । 

यसअघि कितावखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरी सकेको छ । संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्त्वपूर्ण कामका रूपमा हेरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस