राज्यले कसैप्रति विभेद गर्दैन : मन्त्री मोदी  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राज्यले कसैप्रति विभेद गर्दैन : मन्त्री मोदी 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राज्यले कसैप्रति विभेद नगर्ने बताएका छन् । 

मोरङको रंगेलीमा नेपाल सन्थाल इसाई समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

“राज्य सबैको अभिभावक हो, कुनै जाति वा धर्म विशेषलाई लिएर राज्यले कसैप्रति विभेद गर्दैन” मन्त्री मोदीले भने । माओवादीको नेतृत्वमा भएको जनयुद्धकै कारण मुलुक धर्मनिरपेक्षता गएको बताउँदै उनले भने, “माओवादी जनयुद्धकै कारणले देश धर्मनिरपेक्षतामा गएको हो, कोही हिन्दु धर्म मान्नेहरू होलान्, कोही मुस्लिम, बौद्ध धर्म त कोही क्रिश्चियन होलान्, धर्मको आधारमा राज्यले कसैलाई विभेद गर्दैन ।”

राज्यको कुनै एउटा धर्म हुन नसक्ने उनको भनाई थियो । “राज्यको आफ्नो कुनै एउटा धर्म हुँदैन, राज्य सबैको हो, सबै धर्म र सबै जाति राज्यका लागि बराबर हुन्छ” मन्त्री मोदीले भने । 

आजै मोरङको बेलबारीमा जारी धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै मन्त्री मोदीले राज्यले सबै धर्म र जातिलाई समान व्यवहार गर्ने बताएका थिए । सबै जातजाति र धर्म मान्नेहरूको भावनालाई राज्यले उचित सम्मान गर्ने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस