‘न्यायाधीशको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेको छैन’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘न्यायाधीशको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेको छैन’


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पारेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित ‘अधिवक्ताको ३० औँ परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरूको लागि सञ्चालित पूर्वव्यावसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौँ । हामीलाई अहिले मुद्दाले धेरै जितेको छ । न्यायाधीशको संख्या कम छ । हामीले चाहेर पनि नहुने स्थिति भएको छ । उच्च अदालतमा एक चौथाई न्यायाधीशहरू पूर्ति गर्न सकिएको स्थिति छैन । सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ । यो स्थितिमा अहिले हामी हिँडिरहेका छौँ ।’

न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाइ थियो । उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परे पनि आफूहरूले न्यायमा ढिलाइ हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दाबीसमेत गरे ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरूलाई पनि आग्रह गरे ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिस्टममा लैजान खोजेपनि स्रोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस