महिला कर्मचारीको प्रसूति बिदा थप्न माग  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

महिला कर्मचारीको प्रसूति बिदा थप्न माग 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न गरेको छ । सङ्गठनले विभिन्न निर्णय गर्दै अधिवेशन सम्पन्न गरेको हो । 

अधिवेशनका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा महासचिव प्रकाश राईले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हकहित संरक्षणका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले तीन तहमा कर्मचारी समायोजन गर्दा कर्मचारी वर्गमा थुप्रै समस्या उत्पन्न भएकाले त्यसको उचित ढङ्गले समाधान गरिनुपर्नेमा जोड दिए।

वैज्ञानिक सरुवा प्रणाली विषयमा पूर्व प्रशासक र विज्ञ सम्मिलित समूहबाट अध्ययन अनुसन्धान गराई सरकारलाई सुझाव दिने निर्णय गरेको अधिवेशनले सङ्घीय निजामती सेवा ऐनका आधारभूत अन्तर बस्तुमा सङ्गठनले सार्दै आएका दृष्टिकोणप्रति प्रतिबद्ध रहने निष्कर्ष निकालेको छ । ट्रेड युनियनका अगुवाको नेतृत्व तथा व्यवस्थापनमा सुशासनयुक्त सेवा प्रवाहका लागि नमूना कार्यालय सञ्चालन गर्न आह्वान गर्ने निर्णय गरेको अधिवेशनले क्षतिपूर्तिसहितको सार्वजनिक सेवाको मान्यताप्रति दृढ रहने निर्णय गरेको छ ।

महिला राष्ट्रसेवक कर्मचारीको प्रसूति तयारी बिदाका रूपमा एक महिना अतिरिक्त बिदा थप गर्नुपर्ने, कार्यालयमा स्तनपान कक्षको व्यवस्था, कडा प्रकृतिको स्त्रीरोगका लागि औषधोपचार गर्नुपर्ने महिलाले उपचारको समयावधिभर तलबी बिदा पाउनुपर्ने माग गरेको अधिवेशनले उच्चस्तरीय तलब सुधार आयोगले गत फागुन २० गते बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस