कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै


१ चैत्र २०७९, बुधबार


सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले यस वर्ष मात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ ।

पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पूर्याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दै आएको छ ।

कर्णालीका अधिकांश नागरिक विकासको महत्त्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो ।

भौगोलिक हिसाबले सबैभन्दा ठुलो प्रदेश कर्णालीभरि यस वर्ष नयाँ र क्रमागत गरी करिब एक हजार सडक निर्माणका क्रममा छन् ।

प्रदेश सरकारले ३० लाखभन्दा कमका योजना नबनाउने निर्णय गरेपछि यस वर्ष विगतमा भन्दा धेरै स–साना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको मन्त्रालयका सूचना अधिकारी भीमबहादुर कार्कीले बताए ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले भौतिक पूर्वाधार सडक र पुल निमार्णमा गरी आठ अर्ब विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव रहेको छ । दश जिल्लामध्ये सात जिल्लामा अहिले पनि निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता छ ।

दुई सय २१ दरबन्दी रहेको मन्त्रालयमा हालसम्म प्राविधिकतर्फ ६० प्रतिशत जनशक्ति रिक्त छ । रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि लोकसेवा आयोगसँग माग गरिएको कार्कीले बताए ।

दरबन्दीअनुसारका जनशक्ति नहुँदा सबैभन्दा धेरैजसो भौतिक पूर्वाधार निर्माणका काममा जनशक्तिको अभाव देखिएको उनको भनाइ छ ।

बर्सेनि सडक निर्माण हुने तर स्तरोन्नति हुन नसक्दा वातावरणमा प्रभाव परेको नागरिकले गुनासो गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस