बढ्यो चिराइतोको मूल्य « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बढ्यो चिराइतोको मूल्य


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । चिराइतोको भाउ गत वर्षको तुलनामा प्रतिमन (४० किलो) १० हजार रुपैयाँ बढेको छ। गएको वर्ष प्रतिमन ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको हाल ४० हजार रुपैयाँ पुगेको हो।

योसँगै पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैँचीभन्दा चिराइतोको मूल्य माथि पुगेको छ। अलैँची प्रतिमन ३५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ।

भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रुपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन्।

गत वर्ष १८ हजार रुपैयाँ हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो। बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजार रुपैयाँसम्ममा लिने गरिएको छ। चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए।

व्यवसायीका अनुसार चिराइतो सुकेको वा नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ। झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन्।

केही वर्ष अघिसम्म ओलाङ्चुङ्गोला हुँदै चीनको तिब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ।

मूल्य वृद्धि भएसँगै चिराइतो सङ्कलन र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस