काठमाडौँमा दूतावास खोल्न बहराइनका समकक्षीसँग सभामुख घिमिरेको आग्रह « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काठमाडौँमा दूतावास खोल्न बहराइनका समकक्षीसँग सभामुख घिमिरेको आग्रह


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेटवार्ता गरेका छन् ।

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु)को १४६ औँ महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् ।

सभामुख घिमिरेले आईपीयुको १४६ औँ महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए । उनले नेपाली नागरिकलाई विभिन्न पेसामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे ।

सभामुख घिमिरेले नेपाल-बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिएका थिए ।

जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरूले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस