एक साताभित्र काँग्रेस सरकारमा सहभागी हुन्छ : रिजाल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

एक साताभित्र काँग्रेस सरकारमा सहभागी हुन्छ : रिजाल


२९ फाल्गुन २०७९, सोमबार


वीरगञ्ज । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले काँग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।

वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काँग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए । ‘कुन–कुन मन्त्रालय लिने र क–कसलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरूसँग छलफल भइरहेको छ’, उनले बताए, ‘उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ ।’

नेपाली काँग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उनको भनाइ थियो ।

‘कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन’, सांसद रिजालले भने, ‘पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।’

आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एक जना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उनले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताए ।

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस