सेनाले गर्‍यो विराट राजाको दरबार सङ्ग्रहालय महानगरलाई हस्तान्तरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेनाले गर्‍यो विराट राजाको दरबार सङ्ग्रहालय महानगरलाई हस्तान्तरण


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाली सेनाले विराटनगरमा निर्माण गरेको विराट राजाको प्राचीन दरबार सङ्ग्रहालय विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

सुनसरीको इटहरीस्थित पूर्वी पृतनाका पृतनापति उपरथि डा. आशबहादुर तामाङले आइतबार एक कार्यक्रममा सङ्ग्रहालय महानगरका मेयर नागेश कोइरालालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका थिए।

उनले धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा सो क्षेत्रलाई उजागर गर्दै भारतीय पर्यटक भित्र्याउन सकिने उल्लेख गरे।

सोही क्रममा मेयर कोइरालाले विराटनगरको दक्षिणी क्षेत्रको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताएका थिए। मेयर कोइरालाले दरवार भनिएको क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गर्ने बताए। सोही क्रममा चालु वर्ष विराट राजाको दरबार क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिएका छन्।

कार्यक्रममा पूर्वीपृतनाका पृतनापति उपरथी डा. तामाङले सेनाको भैरवगण मोरङले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यसाथ १९ लाख ७६ हजारको लागत तथा सैनिक श्रमदानमा एक कठ्ठा जग्गामा चार महिनाको अवधिमा संग्रहालयको निर्माण सम्पन्न गरेको जानकारी दिए।

पूर्वीपृतनापति उपरथी डा। तामाङका अनुसार सेनाले २०७९ कात्तिक २१ गतेबाट निर्माण सुरु गरेको हो। कार्यक्रममा महानगरपालिकाका मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वीपृतनाका उपरथी एवं पृतनापति डा. तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालयको चाबी हस्तान्तरण गरेका थिए।

विराटनगर-१८ भेडियारीमा अवस्थित सङ्ग्रहालय र सो क्षेत्रमा विराट राजाको दरबार खोज र संरक्षण स्थानीय कमलकिशोर यादवले गर्दै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस