नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक-२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले आज पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट वञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ ।

आमाबाबु नेपाली नागरिक भए पनि कानुन अभावका कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान जारी भएको झण्डै आठ वर्ष हुँदासमेत नागरिकतासम्बन्धी विवाद टुङ्गोमा नपुगेको उल्लेख गर्दै नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन समस्याको भएको गुनासो गरे ।

उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेको नागरिकता विधेयक पारित नगर्नु संविधान विपरीत छ ।’

नागरिकता नभएकै कारण लाखौँ नेपाली उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपरेको उनले भने । समितिका सदस्य उत्तम कुमारले कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट वञ्चित गरिने छैन भनी नेपालको संविधानमा प्रस्ट लेखिएको अवस्थामासमेत आफूहरूले दुःख झेलिरहनुपरेको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस