आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ ।
आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो । सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताए ।

उनले भने, ‘निर्वाचनमा स्थलगत अवलोकन र अनुगमनका क्रममा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी र पत्रकारसँग कुराकानी गरेका थियौँ । समग्रमा राम्रो वातावरणमा निर्वाचन सम्पन्न भएको पायौँ ।’
यसअघिका स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगको टोलीले अनुगमन गर्दै आएको थियो । राष्ट्रपति निर्वाचनमा पहिलो पटक आयोगले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रदेशसभातर्फका सांसदहरूको गुनासो आएको अनुगमन टोलीका संयोजक ठाकुरले जानकारी दिए ।
उनले प्रदेशसभातर्फका सदस्यले मतदान गर्न काठमाडौँ धाउँदा खर्चसँगै जनताको काम ओझेलमा परेको गुनासो आएको बताए ।

‘प्रदेशतर्फको सांसदहरूले प्रदेशमा नै मतदान गर्न पाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रपति लगत्तै उपराष्ट्रपतिको मतदानका लागि काठमाडौँ धाउनुपर्दा नागरिकको काम ओझेलमा परेको र स्वयं सदस्यलाई आर्थिक भार र समय बढी व्यतीत भएको उहाँहरूको गुनासो छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस