राप्रपा र रास्वपाले अब राष्ट्रपतिमा कित्ता क्लियर गरे कारबाही हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्रपा र रास्वपाले अब राष्ट्रपतिमा कित्ता क्लियर गरे कारबाही हुने


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति निर्वाचन आचारसंहिता सोमबार रातिदेखि लागू भएपछि पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन् । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरूले औपचारिक निर्णय गर्न नपाउने भएका हुन् ।

राष्ट्रपतिका उम्मेदवार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रूपमा पौडेलको पक्षमा उभिएको अवस्था छ ।

यता एमालेले पौडेलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको छ । नेम्वाङलाई मौन अवधिसम्म एमाले बाहेकका दलको समर्थन छैन । राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भनेर राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले कित्ता क्लियर नगरेको अवस्था छ ।

राप्रपाले यसबारे निर्णय लिन बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले पनि २५ गते बिहान बैठक बसेर निर्णय लिने बताएका छन् । तर राष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण अब उनीहरूले कित्ता क्लियर गर्ने नपाउने प्रमुख निर्वाचन आयोग आयुक्त दिनेश थपलियाले बताए ।

कुनै दलले पक्षधरता देखाएर निर्णय लिएमा आयोगले प्रस्टीकरण सोध्ने थपलियाले बताए ।

उनका अनुसार राष्ट्रपति र उपनिर्वाचनका लागि निर्वाचन आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस