१५७ बढी सवारी ट्राफिक कारबाहीमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१५७ बढी सवारी ट्राफिक कारबाहीमा


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । होली पर्वलाई मध्यनजर गरी आज (सोमबार) काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । ट्राफिक प्रहरीले सोमबार ट्राफिक नियम उल्लङ्घन गर्ने १५७ बढी सवारी चालकलाई कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकामा युवा–युवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्न सक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिएका छन् । उनले इच्छा विपरीत कसैलाई रङ दल्ने,लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागूपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापरबाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए । होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस