आजदेखि राष्ट्रपति निर्वाचनको प्रचार प्रसार निषेध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आजदेखि राष्ट्रपति निर्वाचनको प्रचार प्रसार निषेध


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहितासमेत जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस