मस्तिष्क मृत्यु भएकी किशोरीको कलेजो र मिर्गौला ३ जनामा प्रत्यारोपण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मस्तिष्क मृत्यु भएकी किशोरीको कलेजो र मिर्गौला ३ जनामा प्रत्यारोपण


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । मस्तिष्क मृत्युपछि गरिएको अंगदानका कारण एक जनामा कलेजो प्रत्यारोपण र दुई जनामा मिर्गौला प्रत्यारोपण भएको छ ।

१६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

मङ्गलवार ६८ एक वर्षीय पुरुषमा कलेजो, ४७ र ३५ वर्षीय दुई पुरुषमा सफल मिर्गौला गरेको केन्द्रले जनाएको छ । भक्तपुरस्थित मध्यपुर अस्पतालमा मस्तिष्क मृत्यु भएकी एक किशोरीको अङ्गबाट ललितपुर महानगरपालिका-२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो । यस्तै, रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट सफल कलेजो प्रत्यारोपण गरिएको नेपालमै यो पहिलो हो । यसअघि दुई वटा प्रयास भएपनि ती सफल हुन सकेका थिएनन् ।

एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अङ्ग प्रत्यारोपण हुन सक्ने डा. श्रेष्ठले बताए । जसमा दुई जनामा मिर्गौला, दुई जनामा फोक्सो, एक कलेजो, एक मुटु, एक प्यान्क्रियाज र एक सानो आन्द्रालगायत प्रत्यारोपण गर्न सकिन्छ । हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका मानिसबाट अगंदान भएको केन्द्रले जनाएको छ ।

विज्ञका अनुसार ब्रेन डेथ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । कलेजो १२ घण्टा, प्यान्क्रियाज १० घण्टा र मुटु तथा फोक्सो चारदेखि ६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ ।

नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ । मुटु, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्रा जस्ता अन्य अङ्गहरूको प्रविधि तथा जनशक्ति अभावका कारण प्रत्यारोपण सुरु हुन सकेको छैन । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ ।

चिकित्सकहरूले मस्तिष्क मृत्यु भएको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । किनकि मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्न । तर भेन्टिलेटरको सहायतामा शरीरका केही अङ्ग चलायमान राख्न सकिन्छ ।

चिकित्सकका अनुसार मस्तिष्क मृत्यु भएको मानिसबाट अङ्ग निकाल्नका लागि मुटु भने चलिरहेको हुनुपर्छ । त्यो अवस्थामा मृतकका आफन्तले अङ्ग दान गर्न सक्छन् । तर, अझै पनि जनचेतनाको अभाव र मस्तिष्क मृत्यु भएको जानकारी नपाउँदा पनि अङ्ग दानमा कमी आइरहेको विज्ञको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस