पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ ।

गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । ‘गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानव बस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ’, उनले भने ।

उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भई इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलम पोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी सहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ ।

अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटै भरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धनका लागि ५९ लाख खर्च गरी काम सुरु गरिसकेको छ । जसमा हालसम्म पोखरी पुनः संरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रूपमा विकास गर्नका लागि काम गरिरहेको छ ।

पर्यटन व्यवसायी राजेन्द्र बस्तीले लमजुङ पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको जिल्ला भएको र त्यसमा पनि दोर्दीमा पदमार्गको राम्रो र नयाँ सम्भावना रहेको बताए ।

उनले उक्त पदमार्गमा एक हजार नौ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पुग्न सक्ने बताए । उनले केही समयअघि टानको सहकार्यमा पदमार्गको नक्साङ्कन तथा प्रचारप्रसारको प्रयास भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस