ललिता निवास प्रकरण : थुनामा रहेका एक मात्र मुख्य प्रतिवादी ढकाललाई रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ललिता निवास प्रकरण : थुनामा रहेका एक मात्र मुख्य प्रतिवादी ढकाललाई रिहा गर्न सर्वोच्चको आदेश


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा विशेष अदालतले आदेशले थुनामा रहेका मुख्य अभियुक्त मध्येका एक शोभकान्त ढकाललाई रिहा गर्न आदेश गरेको छ।

विशेषको थुनामा पठाउने निर्णयविरुद्ध ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले रिट जारी हुने फैसला सुनाएको हो।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा यस्तो आदेश गरेको हो। ललिता निवासमा थुनामा उनी मात्र रहेका थिए।

विशेषले तीन प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई पनि थुनामा पठाएको थियो। बस्नेत कोरोनाका कारण अस्पताल भएपछि सर्वोच्चको आदेशले रिहा भएका थिए।

२०७७ माघ २७ मा ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यो आदेशविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए।

तर, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उनलाई थुनामुक्त गर्ने विषयमा ०७८/०१र२४ मा फैसला गरे पनि राय बाझिएको थियो।

ललिता निवास मुद्दामा उनीमाथि २ वर्ष कैद सजाय माग गरिएकोमा २८ माघमै उनी पुर्पक्षका लागि जेल चलान भएको २ वर्ष पुगिसकेको छ। मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस