उपमुख्यमन्त्री सिसोदिया गिरफ्तार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उपमुख्यमन्त्री सिसोदिया गिरफ्तार


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भारतको ‘सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले गिरफ्तार गरेको छ । दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।

आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए ।

दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ भनेको छ । उसले आइतबार ‘लोकतन्त्रका लागि कालो दिन’ भएको पनि उल्लेख गरेको छ ।

बयानका लागि सीबीआई अफिस जानुअघि सिसोदियाले घरमै आमाको आशीर्वाद लिएका थिए । त्यसपछि उनी आफ्ना समर्थकहरूको साथ सीबीआई कार्यालय पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस