‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, आदिलसहित ११ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, आदिलसहित ११ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेको थियो ।

कीर्तिपुर मैदानमा गएको पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान गरेका थिए ।

अनुसन्धानकै क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा यसअघि युवा अलराउन्डर मोहम्मद आदिल अन्सारी, पूर्व क्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए ।

आदिलले नेपालबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी हुन् ।

उनले नेपालका लागि ६ एक दिवसीय अन्तर्राष्ट्रिय र आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनलाई उदयीमान ‘फिनिसर’का रूपमा हेरिएको थियो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मेहबुबले बाहिर बसेर स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । आदिलले सो प्रस्ताव स्वीकार गरेका थिए । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा स्पट फिक्सिङको योजनाअनुसार ‘नो बल’ फालेका थिए ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार ११ जनालाई प्रतिवादी बनाइएको छ । तीनजना मात्रै पक्राउ परेका छन् । अन्य फरार छन् । विदेशी खेलाडी भने स्वदेश फर्किसकेका छन् ।

प्रतियोगिताकै दौरान राष्ट्रिय टोलीका सदस्य आरिफ शेखलाई पनि स्पट फिक्सिङको प्रस्ताव आएको खुलेको छ । तर, उनले सो प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।

सीआईबीको अनुसन्धानमा क्रममा प्रतियोगिता चलिरहेकै बेला आदिलको खातामा चार लाख रुपैयाँ ‘डिपोजिट’ भएको देखिएको छ ।

यसबाहेक आदिलको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो । जतिन क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन् । उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए ।

अन्य प्रतिवादीमा केही क्यारेवियन खेलाडी, सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालियालगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस