अवैध आयात रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अवैध आयात रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको भन्दै यसलाई रोक्न रुपन्देहीका व्यवसायीले माग गरेका छन् । अटो मेकानिक्स व्यवसायी महासङ्घ र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका हुन् ।

अवैध आयातका कारण वैधानिक रूपमा कर तिर्ने व्यवसायीहरू मारमा परेका तथा राज्यलाई प्राप्त हुने राजस्वको ठूलो हिस्सा पनि गुमिरहेको ज्ञापनपत्रमा उल्लेख छ । कोभिड-१९ का कारणले आक्रान्त भएका व्यवसायीहरू बैंकिङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारणले व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेको ज्ञापनपत्रमा जनाइएको छ ।

यसका साथै राष्ट्रलाई पनि हानि भइरहेको सन्दर्भमा व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको उनीहरूको ठहर छ । यसलाई साझा समस्याका रूपमा लिई सरोकारवाला निकाय, सङ्घ-संस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोबारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस