जनाधार भएका ठाउँ छाड्नुपर्‍यो, काँग्रेसले भोट हालेन : माओवादी केन्द्र « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जनाधार भएका ठाउँ छाड्नुपर्‍यो, काँग्रेसले भोट हालेन : माओवादी केन्द्र


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले गएको निर्वाचनमा पार्टीमा एकजुट हुनै नसकेको कारण सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । केही दिनअघि बसेको स्थायी कमिटीको बैठकले गठबन्धनमा काँग्रेसको भोट ट्रान्सफर नभएको निष्कर्ष निकालेको हो ।

माओवादीले स्थायी कमिटीको बैठकका लागि तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘यसपटक चुनावी गठबन्धनमा काँग्रेससँग सहकार्य भयो । यतिबेला अर्थात् २०७९ मा ११ लाख ७५ हजार मतमा १८ सीटमा सीमित भयौँ । मुलुकको संघीय राजधानी काठमाडौँ उपत्यकाभित्र हामी निल भयौँ । यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ।’

आठौँ महाधिवेशनमा आइपुग्दा वैचारिकरूपमा केही हदसम्म प्रगति भएपनि त्यसको कार्यान्वयनका लागि आम जनता र कार्यकर्तामा स्पष्टता र सङ्गठनात्मक क्षेत्रमा व्यवस्थित एवम् सुदृढ गर्ने कार्यमा व्यवस्थित हुन नसकेको माओवादीको बुझाइ छ ।

‘पार्टी सदस्यता बराबर समानुपातिक मत प्राप्त नभएको कुरा जिल्लामा प्राप्त भएको समानुपातिक तर्फको मतले हाम्रो सङ्गठनको अवस्थालाई उजागर गरेको छ’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा जुनजुन प्रदेश र जिल्लाहरूमा पार्टीमा एकरूपता र सहमतिको साथ निर्वाचन प्रक्रियामा सहभागी भयौँ त्यहाँ सकारात्मक परिणाम हाँसिल भयो । जुन प्रदेश र जिल्लाहरूमा पार्टी एकता र सहमति देखिएन त्यहाँ प्रतिस्पर्धा आम निर्वाचन जित्ने जिताउने भन्दा एक आपसमा एक अर्कोलाई हराउनेतिर उन्मुख भएको पाइयो ।’

जनमत तुलनात्मकरूपले राम्रो रहेको निर्वाचन क्षेत्रहरू गठबन्धनभित्रका अरू दलहरूलाई छोड्नुपर्ने बाध्यता र जनाधार नै नभएका कतिपय क्षेत्रहरू लिने रुचिले परिणाममा थप गम्भीर असर परेको उल्लेख गरेको छ ।

‘अझ गम्भीर कुरा त के रह्यो भने गठबन्धन दल मुख्यतया नेपाली काँग्रेसको भोट ट्रान्सफर नहुने समस्या हाम्रो परिणामका लागि जिम्मेवार बन्न पुग्यो । यस चुनावी समीक्षाका बारेमा सबै जिल्ला र प्रदेशहरूको रिपोर्ट प्राप्त भएपश्चात् पार्टी केन्द्र कार्यालयले विस्तृत समीक्षाको रिपोर्ट तयार पारेपश्चात् आवश्यक निर्णयमा पुग्नु पर्दछ’ प्रतिवेदनमा भनिएको छ।

पार्टीको आन्तरिक जीवन र राजनैतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने एउटा अवसर फेरि आएको निष्कर्ष माओवादीको छ ।

पार्टीको समग्र वैचारिक-राजनैतिक-सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नुपर्ने उल्लेख गर्दै संरचनागत, विधि र पद्धति, नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवम् प्रतिस्पर्धासमेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएका छ, ‘शान्ति प्रक्रियामा आएयता हामीले चारवटा निर्वाचनमा प्रतिस्पर्धा गर्‍यौँ । २०६४ को निर्वाचनमा जनयुद्धको रापतापका बीचबाट हामीले ३१ लाख बढी मत र प्रत्यक्षतर्फ १२० सीट ल्याई देशकै सबैभन्दा ठूलो पार्टी भयौँ । २०७० को प्रतिस्पर्धामा हामी कमजोर साबित भयौँ र हामीले प्रत्यक्षतर्फ २६ सीट र १४ लाख ३९ हजार मत पायौँ ।’

२०७४ मा हामीले पहिलो पटक स्थानीय निर्वाचन सामना गर्‍यौँ र नेकपा एमालेसँग सङ्घ र प्रदेशको चुनावमा गठबन्धन गरी चुनाव लड्दा ३६ सीट र १३ लाख मत प्राप्त गरेको पनि प्रतिवेदनमा लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस