प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माओवादीको दाबी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माओवादीको दाबी


११ पुस २०७९, सोमबार


काठमाडौँ । केन्द्रीय राजनीतिमा आइतबारबाट नयाँ सत्ता समीकरण बनेपछि प्रदेश १ सरकारको नेतृत्वका लागि दुई दलले दाबी गरेका छन् । प्रदेश १ को ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा १३ सदस्यसहित माओवादी केन्द्र तेस्रो दल हो । ४० सदस्य जितेको एमालेको एमालेको सशक्त दाबी छ । नेपाली काँग्रेस सहितको गठबन्धनमा हुँदा नेतृत्वका लागि माओवादीले दाबी गरेको थियो । एमालेसँग गठबन्धन भएपछि पनि माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्व दाबी गरेको हो ।

नेकपा एमालेबाट दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको उम्मेदवार हुन् । आइतबार भएको एमाले संसदीय दलको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको थियो ।

उनी आफू मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । निर्वाचनमा सहकार्य गरेको एमाले, राप्रपा र जसपाको बहुमत रहेको बताउँदै उनले नयाँ समीकरणले गठबन्धनमा ६० मत पुगेको बताए ।

नयाँ सत्ता समीकरण बनेपछि प्रदेश सरकारको नेतृत्वमा सशक्त दाबी गरेको नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए । दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित आङ्बो दलको नेताको दाबेदार हुन् । तर उनलाई नेता दुर्गा चापागाईँले चुनौती दिइरहेका छन् ।

पार्टीले केन्द्रमा पनि आफ्नो दाबी प्रस्तुत गरेको बताउँदै उनले प्रदेशमा पनि दाबी पेस गर्ने बताए ।

प्रदेशसभामा दोस्रो पटक निर्वाचित आङ्बो पार्टीले नेतृत्व नपाए आफू सरकारमा नजाने बताउँछन् । एमालेको नेतृत्वमा सरकार गठन पार्टीका अन्य सदस्य सहभागी हुने उनको भनाई छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस