शुरु भयो हेटौँडा सिमेन्टको उत्पादन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शुरु भयो हेटौँडा सिमेन्टको उत्पादन


९ पुस २०७९, शनिबार


हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले करिब एक महिनापछि उत्पादन शुरु गरेको छ।

​क्लिंकर उत्पादन गर्ने मेशिनको मोटर बिग्रिएर एक महिनादेखि उत्पादन ठप्प भएकोमा उद्योगले फेरि उत्पादन शुरु गरेको हो।

सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि–फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द भएको उद्योगले जनाएको थियो।

विद्युतीय उपकरणको पाट पुर्जा बाहिरबाट ल्याई जडान गरिएको र अन्य उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादनलाई हिजोदेखि सञ्चालनमा ल्याइएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले बताए ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग ४ वर्षदेखि निरन्तर घाटामा चलिरहेको छ। उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न भन्दै प्रतिबोरा ४० रुपैयाँ मूल्य घटाउँदा पनि बिक्री नभएको समेत जनाएको छ। आर्थिक अभाव झेलिरहेको उद्योगमा पटक पटक मेसिनहरू बिग्रँदा उत्पादन ठप्प हुने गरेको छ।

सरकारले २०३२ सालमा स्थापना गरेको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मंसिरमा व्यावसायिक तवरबाट उत्पादन गर्दै आएको थियो। उद्योग करिब एक दशकपछि दैनिक ७५० मेट्रिक टनको पूर्ण उत्पादन क्षमतामा सञ्चालनमा आएको थियो।

तर पूर्ण क्षमतामा सञ्चालनमा आएको एक महिना पनि हुन नपाउँदै मेशिन बिग्रिँदा फेरि उत्पादन रोकिएको थियो। आर्थिक अभाव झेलिरहेको उद्योगको उत्पादन यसअघि ३ महिनासम्म ठप्प थियो। ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग चल्ने बन्द हुने अवस्थाबाट गुज्रिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस