एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु


७ पुस २०७९, बिहिबार


चितवन । चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।

ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा दुई सय ४२ वटा सवारीसाधन संलग्न रहेका छन् ।

दुर्घटनामा पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल एक सय ३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रो छ वटा, ट्र्याक्टर पाँच, ट्याम्पो आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य चार वटा रहेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए । मुख्य राजमार्गमा भन्दा भित्री सडकमा सवारीको गति तीव्र हुने भएकाले सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको उनले बताए ।

उनले भने, ‘हामीले सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएका छौँ ।’ सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम र नियमित जाँचलाई तीव्र बनाइएको उनले बताए ।

भित्री सडकमा चालकको लापरबाही, मादक पदार्थ सेवन, साँघुरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस