विप्लव नेतृत्वको नेकपाका ७ जना नेता कार्यकर्ता पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विप्लव नेतृत्वको नेकपाका ७ जना नेता कार्यकर्ता पक्राउ


५ पुस २०७९, मंगलबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौँडा बसपार्कमा पूर्व-पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बाग्मती संयोजक विवेक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सूर्य सिंह, केन्द्रीय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरू सुरज घलान, अमन लामा, रवि रुम्बा र भूषण लामा रहेका मकवानपुरका प्रहरीले जनाएको छ ।  

नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको कार्यतालिका अनुसार आज (मङ्गलवार) १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम थियो ।

सरकारले ल्याएको विवादित अध्यादेश अहिले शीतल निवासमा पुगेर रोकिएको छ । अध्यादेश जारी भएपछि विप्लवसहित सीके राउत, रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस