मन्त्रिपरिषद् सामाजिक समितिद्वारा चार नीति पारित  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद् सामाजिक समितिद्वारा चार नीति पारित 


५ पुस २०७९, मंगलबार


काठमाडौँ। सरकारले चार महत्त्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मङ्गलवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९-२०८९ र स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ पारित भएको स्रोतले जनाएको छ । 

त्यस्तै समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पास भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पुर्‍याउनु पर्ने उल्लेख छ ।

स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ ।

बलबालिका नीतिमा बालबालिकाका चार अधिकारको ग्यारेन्टी गरिएको छ । बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको जनाइएको छ । 

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपाङ्गको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचारबारेको विषय मुख्यरुपमा प्राथमिकताकासाथ राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस