गगन र शेखरपक्षको बैठक निष्कर्षविहीन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गगन र शेखरपक्षको बैठक निष्कर्षविहीन


४ पुस २०७९, सोमबार


काठमाडौँ नेपाली काँग्रेसको संसदीय दलमा आकाङ्क्षा राखेका दुई नेताहरू गगन थापा र शेखर कोइरालालाई मिलेर जान दबाब दिँदै बसेको अनौपचारिक बैठक कुनै निष्कर्ष नै ननिकाली टुङ्गिएको छ।

काँग्रेस संसदीय दलमा आकाङ्क्षा राखेका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एकलाई मात्र संस्थापन इतर पक्षबाट अगाडि बढाउने भन्दै जुटेको छलफलले कुनै निर्णय निकाल्न नसकेको हो।

काँग्रेस संसदीय दलको निर्वाचनका लागि मङ्गलवार उम्मेदवारी मनोनयनको कार्यक्रम छ।

काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता शेखर कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी वार्ता भएको हो । बैठक फेरि मङ्गलवार बिहान बस्ने गरी टुङ्गिएको हो।

यसअघि सोमबार बिहान पनि थापा र कोइरालाबीच छलफल भएको थियो। थापालाई दलको नेता प्रस्ताव गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने यस छलफलमा सहभागी थिएनन्। गुरुङसहित चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायत नेता छलफलमा सहभागी थिए । बैठक राजधानीको एम्बासडर होटेलमा बसेको हो।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकले कुनै निर्णय गर्न नसकेपछि मङ्गलवार बिहान फेरि बैठक बस्ने तय भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस