नेपाल एयरलाइन्स तत्काल भैरहवा नजाने  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल एयरलाइन्स तत्काल भैरहवा नजाने 


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल एयरलाइन्स सोमबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा नजाने भएको छ। एयरलाइन्सलाई त्यहाँ उडान थाल्न अझै केही समय लाग्ने भएको हो।

एयरलाइन्सले यसअघि पुस ४ देखि भैरहवा विमानस्थलमा उडान गर्ने बताएको थियो। दोहा र क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गर्ने एयरलाइन्सले बताएको थियो। तर आन्तरिक तयारी बाँकी रहेकाले उडानका लागि अझै समय लाग्ने एयरलाइन्सले बताएको छ। 

एयरलाइन्स प्रवक्ता अर्चना खड्काका अनुसार नयाँ विमानस्थलमा उडान सुरु गर्दा बोर्ड बैठकले स्वीकृत गर्नुपर्नेछ। यो प्रक्रिया भइरहेकाले केही ढिलाइ हुन सक्ने उनले बताइन्।

एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। 

प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौँ-क्वालालम्पुर-भैरहवा-काठमाडौँ रुटमा उडान गर्नेछ।

प्राधिकरणका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान एउटा हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस