प्रदेश १ मा खुल्यो सरकार गठनको बाटो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश १ मा खुल्यो सरकार गठनको बाटो


२ पुस २०७९, शनिबार


विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन मत परिणामसहितको प्रतिवेदन बुझाएका छन् ।

शनिबार प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएका हुन् ।

प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम प्रमुख निर्वाचन आयुक्तले प्रतिवेदन बुझाउने प्रावधान छ । संविधानअनुसार अब प्रदेशसभाको बैठक बोलाउन र सरकार गठन गर्ने बाटो खुलेको छ ।

अब २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान हुनेछ । योसँगै दलहरूले संसदीय दलको बैठक बोलाउने र सरकार गठन गर्ने बाटो पनि खुलेको छ ।

प्रतिवेदनअनुसार प्रदेश १ को प्रदेशसभामा ६ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व भएको छ । प्रदेशतर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत प्राप्त गरेका दलहरूले समानुपातिकतर्फ प्रतिनिधित्व गरेका प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परशुराम खापुङले निर्वाचनलाई निष्पक्ष, कम भड्किलो बनाएर आचारसंहिता पालना गराउनसमेत सक्षम रहनु खुसीको विषय भएको बताए ।

प्रदेश १ मा समानुपातिक निर्वाचनमा सहभागी भएका ३० वटा राजनीतिक दलको धरौटी जफत भएको छ ।

निर्वाचनमा २ प्रतिशतभन्दा बढी मत बदर भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले भने, ‘यो चिन्ताको विषय हो ।’ उनका अनुसार प्रदेशतर्फ समानुपातिक मत धेरै बदर भएको छ ।

निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको भन्दै उनले धाँधलीरहित हुन नसकेकोसमेत बताए । भने, ‘मृत्यु भइसकेकाहरूको नाममासमेत मतदान भएको पाइयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस