तारकेश्वरमा एक युवकको टिप्परको ठक्करपछि घाँटी थिचेर हत्या « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

तारकेश्वरमा एक युवकको टिप्परको ठक्करपछि घाँटी थिचेर हत्या


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ ।

२१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् ।

फुयाँललाई मंसिर २५ मा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्करबाट घाइते भएपछि चालक र अन्य मानिसहरू मिलेर हत्या गरेको पीडित पक्षको आरोप छ ।

मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुयाँलको हत्या गरिएको दाबी गरेका छन् ।

हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर सोमबार साँझ पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रहरी वृत्त बालाजुले हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव बलामी र विमल बलामी छन् । शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् ।

शिवको सो बयानपछि मङ्गलवार बिहान प्रहरीले विमललाई पक्राउ गरेको हो । विमल बलामी टिप्परका धनी हुन् । विमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासमा डिपोमा काम गर्नेहरूलाई समेत बोलाएर फुयाँलको हत्या गरेको आरोप छ ।

दुर्घटनापछि हत्या भएकोबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले दुर्घटना मुद्दा चलाउने प्रयास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस