युरोपमा आइटी पढ्ने छोरालाई बाबाको चिठ्ठी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युरोपमा आइटी पढ्ने छोरालाई बाबाको चिठ्ठी


२६ मंसिर २०७९, सोमबार


छोरा शुभाशीर्वाद !

तिमी सूचना तथा सञ्चार (आइटी) सम्बन्धी विधामा अन्तर्राष्ट्रिय तहको शिक्षण संस्थाबाट उच्च शिक्षा हासिल गर्ने लक्ष्य  लाई पूरा गर्न साथीभाइ, चाडपर्व अनि घरपरिवारको माया ममतालाई छाडेर युरोप तिर बिदेसिएको चार वर्ष पूरा भएछ । तिमीले जुन उद्देश्य लिएर विदेशमा पढ्ने चाहना राख्यौ, त्यो पूरा गरेकोमा हामी हर्षित पनि छौँ र तिमीले बहुराष्ट्रिय संस्था (मल्टिनेशनल कम्पनी)मा जागिर गर्न सुरु गरेकोमा गौरवान्वित पनि छौँ । तथापि तिमी यहाँ हुँदा चाडपर्व, धार्मिक र सांस्कृतिक कार्यक्रममा दिल देखि नै संलग्न हुने बानीको थियो र जुन रौनकता हुन्थ्यो, त्यसमा कमी आएको महसुस हामीले गरेका थियौँ र छौँ । तिमीले बहुराष्ट्रिय कम्पनीको जागिर नेपालबाट नै गर्ने उद्देश्य हामीलाई बताएका थियौ । त्यसो हुँदा तिम्रो हाम्रो समाजका धार्मिक र सांस्कृतिक कार्यक्रममा पुन घुलन हुने अपेक्षाले म अत्यन्तै हर्षित थिएँ । तिम्रो व्यक्तित्वमा अझै निखार आउने अपेक्षाले आनन्दित थिएँ । तर यस पटको त्यताको घुमाइवाट फर्के पछि मनमा अलि चिसो पसेको छ । तिमी हामीलाई त्यता युरोप तिर घुमाउन साह्रै उत्साहित भयौँ । हामी घुम्यौँ । म यहाँ तिनै घुमाइका विषयवस्तु र तिम्रो भविष्यका बारेमा उल्लेख गर्न गैरहेको छु ।

तिमीले त्यहाँ जर्मनीमा आएको केही दिनमा हामी बसेको अपार्टमेन्ट प्रवेश गर्ने द्वारै निरको हुलाक बक्स देखाएर भनेका थियौँ “यत्रो विकसित देशमा पनि हुलाक सेवाको यति धेरै महत्त्व हुन्छ । मेरा हरेक कागजपत्र हुलाक मार्फत यही बाकसमा आउँछन् ।” त्यो कुरा मेरो मनमस्तिष्कमा रहिरह्यो । त्यसैले इमेल होइन त्यही हुलाक मार्फत यो पत्र पठाउन खोजेको थिएँ । करोना महामारीको वेला बन्द भएको यी दुई देश बिचको हुलाकी वस्तु आदान प्रदान अझै नखुलेको भनी फिर्ता आयो । अनि म सँग विकल्प भएन इमेल मार्फत प्राप्त गर्नु ।  

तिमीले मैले अनुमान गरेकोभन्दा निकै धेरै राम्रोसँग आफ्नो बसाइ व्यवस्थापन गरेको पाएँ । सोचेको स्तरभन्दा निकै उच्चस्तरको युरोप घुमाइको व्यवस्था गरेको पाउँदा म दङ्ग परेको छु । तिम्री आमा र बहिनीको त कुरै नगरम । जुन कुरा हाम्रो स्तरको सरकारी जागिरे जीवन बिताइ रहने नेपालीको लागि सम्भव नै थिएन । तिम्रो एक जनाको कमाइले हामी पुरै चार जना करिब एक महिना ढुक्कसँग बसाइँ र घुमाइ गर्न पाउनु र सक्नु हामीले निकै गर्वको रूपमा लिएका छौँ । 

तिमीले अनलाइन मार्फत पेरिसमा बुक गरेको अपार्टमेन्ट अहिले पनि झलझली सम्झनामा आइरहेको छ । अपार्टमेन्टमा छिर्दा नै करिब तीस वर्ष हाराहारीका जोडी श्रीमान् फ्रान्सेली र श्रीमती मदगास्कर मूलकी रहिछन् । उनीहरू भरखर अलिअलि हिँड्न लागेको युरोपेली मूलको जस्तो देखिने गोरो वर्णको छोरोसमेत लिएर मुसुक्क हाँस्दै हामीलाई स्वागत गर्न गेटमा आइ पुगे । त्यो घरलाई आधार बनाएर करिब तीन दिन र दुई रात पेरिस परिसरमा घुमेको कुराले स्मरणमा स्थान ओगटिरहेको छ । त्यहाँको ग्रोसरीमा चारै जना गएर चामल लगायतका बेलुकी पकाउने सामाग्री छानी छानी किनेको विषय रमाइलो थियो । हामी पेरिसको आइफिल टावर परिसर दुई दिनसम्म घुम्यौँ । त्यहाँ स्वचालित शौचालयको प्रयोग गर्न निकै समयसम्म लाइनमा बस्न परेको विषय, त्यो शौचालय स्वतः सफा हुने पद्धति र शौचालय सफा नभै ढोका नै नखुल्ने व्यवस्थापन साँचै नै घत लाग्दो थियो । नेपाली पैसामा रूपान्तर गर्दै पेरिसको म्युजियम हेर्ने टिकट लिँदा मेरो मन प्रसन्न थिएन । त्यत्रो सात आठहाजार रुपियाँ किन खर्च गरेको होला भनेर तिम्री आमाले पनि असहजता महसुस गरेकी थिइन ।

पुस्तान्तरले पनि होला तिम्री बहिनी भने म्युजियम भित्र मोनालिसाको वास्तविक फोटो (रियल पिक्चर) हर्न पाइन्छ भनेर निकै उत्साहित थिइन । सदियौँ वर्ष पहिलाको इतिहाससम्बन्धी गतिविधि, पुरानो सभ्यता आफै बोल्ने मूर्तिकला,  भित्तामा टाँसिएका र ठडिएका मूर्तिका आफै एक एक ओटा अमुक कथा बन्न सक्थे । हामीले त्यहाँ घण्टौँ बिताएको पत्तै भएन । त्यहाँको विशाल म्युजियमले धेरै पैसा तिर्‍यो भनेर कुँडिएको मन पनि निको भएको थाहै पाइएन छ । त्यहाँ खिचिएका फोटाहरू मैले मेरो कम्प्युटरको फोल्डरमा व्यवस्थापन गर्दै छु । जति जति दिन बित्दै जान्छ ती फोटाहरूको महत्त्व अझ बढ्दै जाला र त्यति नै आनन्द आउला जस्तो लाग्छ । पेरिसमा खाएको पोलेको मकै पनि निकै स्वादिलो थियो । हामीले सानोमा गोठमा मुढाको आगोमा पोलेर खाएको स्वादको सम्झना त्यसले गराएको थियो ।

हामी पेरिसबाट भनेसि जान बसमा एयरपोर्ट तर्फ हानिँदै गर्दा मैले लगाएको ढाका टोपीबाट नेपाली हो भन्ने पहिचान गरी एक युवकले नमस्कारको अभिवादन गरे । उनसँग विविध विषयमा रमाइलो कुराकानी गरियो यसले बसको यात्रा रमाइलो गराएको थियो । उनीसँगै भएकी एक युवती नानीको परिवार तीन पुस्ता पहिलेबाट फ्रान्समा बस्दै आएको विषय पनि रमाइलै लागेको थियो । उनका हजुरबुबा देखि नै फान्समा बसेको भए तापनि ती केटीको बोलीमा फ्रान्सेली भाषाको लवज भने पटक्कै थिएन । फ्रान्सको ओर्लिबाट इटलीको भनेसि जाँन जहाजको प्रतीक्षा गर्दै गर्दा एक घण्टाभन्दा बढी ढिलो हुने सूचना आयो तर जहाज २० मिनेट जति मात्र ढिला भएको थियो, जहाज उडाइहाल्यो । त्यस्तै घटना हामी मिलानबाट स्वीजरल्याण्ड जाँदा पनि २ घण्टा ३० मिनेट बस ढिलो आइरहेको छ भन्ने सूचना प्राप्त भयो । बसपार्कको जिम्मेवार व्यक्तिले पनि त्यसै भने । तर बस समयमा नै आइ पुगेछ । म त समय जति पनि छ भनेर डुल्न निक्लिएको थिएँ । धन्न मसँग मोबाइल थियो र तिमीले खबर गरिहाल्यौ । त्यस्ता अनौठा घटना किन हुन्छ त्यो चाही अहिलेसम्म पनि बुझ्न सकेको छैन ।

हामी पेरिसबाट भनेसि पुग्यौँ । भेनिसको जहाज ग्राउनवाट गन्तव्यमा पुग्ने अरू ठाउँमा जस्तो सार्वजनिक साधनको सर्वसुलभता रहेनछ । रात छिप्पिन लागिसकेको थियो तथापि तिम्रो पूर्व तयारी र तिमीमा भएको सूचना तथा सञ्चार प्रविधिमा दक्षता, कुशलताका र आत्मविश्वासे हामीले असहजत महसुस गर्न परेन । रातमा अपार्टमेन्ट पुगेका थियौँ । कस्तोमा बस्न पर्ने होला भन्ने जिज्ञासा थियो । साँचै नै तिमीले अनलाइन मार्फत बुकिङ गरेको अपार्टमेन्ट प्रशंसा गर्न लायकको थियो । थोरै ठाउँमा भान्छा कोठा, डाइनिङ र लिभिङ रुम, ठीङ्क चार जना सुत्न मिल्ने बिस्तराहरू । बोकेर वा गुडाएरै लान सकिने जस्तो सानो घरको अपर्टमेण्ट थियो त्यो । सिक्ने जिज्ञासा भएका मानिसका लागि धेरै व्यवस्थापकीय कुशलता त्यसबाट सिक्न सकिने थियो । वास्तवमा त्यो आँपैमा व्यवस्थापकहरूका लागि पाठशाला नै थियो ।

त्यहाँ हामी सार्वजनिक बस चढेर समुन्द्रको टापुमा रहेको पुरानो सहर भेनिसमा पुग्यौँ । तिमीले बहिनीलाई त्यहाँको छत्रे टोपी असाध्य नै रहरका साथ किनिदिएको देख्दा म दङ्ग परिरहेको हुन्थे । तिमीले तिरेको युरोलाई तत्कालै नेपाली रुपियाँमा रूपान्तर गरिहाल्थे । अनि कति सजिलै यति धेरै पैसा तिर्छ यसले भन्ने लग्थ्यो । दिनभरिको समुद्रका टापुहरूमा रहेका वस्तिवस्तिमा हाम्रो घुमाइ स्मरणीय थियो । एक पटक पिसाब फेरेको एक जनाको साढे एक युरो र नानीले त्यही दिनमा हराएको तीन सय युरो जस्ता घटनाहरू भने अझै विस्मृतिमा जान सकेको छैन । तिम्री बहिनी पठनपाठनमा जति कुशाग्र छिन कार्य व्यवहारमा पनि त्यति नै निपुर्ण छन् भनेर तिमीले हामीसँग पटक पटक भन्ने गर्थ्यौ । हामीले कुनै बेला गाली गर्दा समेत ×यस्तो मान्छे कोही देख्नुभाछ । तपाइहरूले जहिले उसलाई स्कुलमा भर्ना गरिदिनु भयो, त्यो दिन देखि अहिलेसम्म ऊ प्रति कुनै गुनासो छैन । पढाइमा एकरुमता छ । सधैँ उही गति । अहिले त एमबिएमा विश्वविद्यालय कै सर्वोकृष्ट (गोल्डमेडलिस्ट) भई” भनेर सुनाउने गर्थ्यो । तापनि उनको व्यक्तिगत व्यवहार र व्यक्तिगत होसियारीमा अझै कमजोर छन् भन्ने सिकाइ भेनिसको घुमाइले दिएको छ ।

हामी दुई रातको भनेसि बसाइ पछि इटाली कै अर्को ऐतिहासिक सहर मिलान तर्फको तयारीमा लाग्यौँ । आपार्टमेण्टमा बिहानै तिम्री आमाले खाना पकाइन मलाई पटक्कै विश्वास थिएन तिमीहरूले बिहानै दालभात तरकारी खाएर हिँड्न तयार हुन्छौ भनेर । तर तिमीहरूले सधैँजस्तो आफ्नो पुरै भाग सहजै खायौ । हामी पहाडमा हुँदा जहाँ जान परे पनि जति बिहानै भए पनि खाना खाएर मात्र हिँड्ने चलन थियो । कति वेला हिँड्ने हो त्यति वेला हजुरआमाले खाना तयार पारिसक्नुहुन्थ्यो । त्यसरी हिड्नेवेला खाना खाना असाध्य नै रहर लाग्थ्यो । अलिकति घ्यूराखेर दूधसँग हजुरआमाले खाइदिएको कुरा सम्झना त्यति वेला आयो । होइन यिनीहरूले यसरी बिहानै मज्जाले भन खाए त भने आमा पनि मक्ख थिइन ।

मिलान सहर युरोपकै ऐतिहासिक सहर रहेछ । त्यहाँका ऐतिहासिक विषयवस्तु, विश्वविद्यालय भित्रको बोटानिकल गार्डेन र विशाल पार्क सम्झनाका विषय रहेका छन् । हाम्रोमा पाइने कटुस जस्तै ठुलो आकारको फल पनि हामीले पाँच युरो तिरेर त्यहाँको विशाल पार्कमा डुल्दै गर्दा खायौँ । ठ्याक्कै कटुसको स्वाद निकै ठुला दाना सानोमा घाँस काट्न जाँदा र गाई बाख्रा हेर्न जाँदा आँफेले भूँइवाट टिपेर खाने गरेको कटुसको याद आयो । स्वीजरल्याण्को बस चढ्न मिलान बसपार्कसम्म करिब दुई घण्टा सहर हेर्दै पैदल हिँडेको कुरा पनि स्मरणमा ताजै छ । त्यहाँ अडाइ दुई घण्टा बस ढिलो छ भनेर जानकारी प्राप्त भयो तर बस ठिक समयमा आइपुगेको विषय पनि रहस्य कै विषय भएको छ ।

यात्रामाका क्रममा बाटामा सबैभन्दा बढी आनन्द महसुस गरिएको यात्रा भने मिलानबाट स्वीजरल्याण्डको जुरिच जाँदा भएको थियो । त्यो दिन घाम पनि मज्जाले लागे । नेपालका नदी किनारका बाटा झैँ नदी र तालको किनारै किनार पहाडै पहाड प्रतिघण्टा ८० किलोमिटर भन्दा बढीको वेगमा घुइँकाउँदा पनि बसले पटक्कै नउफार्ने । त्यसो हुनमा बसको स्तरीयता पनि होला र  बाटो गुणस्तरले पनि होला । साह्रै चौडा बाटाहरू । आधा सुरङ्ग मार्ग आधाजस्तो मात्र बाहिरी जमिनमा बाटो थियो । पहाडलाई लुगामा सियोले प्वाल पारेझैँ प्वाल पार्दै बाटो बनाएको । हाम्रो बुटवल-पाल्पामा पर्ने सिद्दबाबाको मन्दिर निरको बाटो जस्तो सधैँ माथिबाट भत्कने र तल पुर्नेजस्ता ठाउँमा त कहीँ शुरुङ्ग मार्ग त कहीँ पहिरो बग्ने छत नै बनाइ दिएको रहेछ । देखाइले त्यो  नेपालका पहाडहरूमा पनि कुनै दिन त्यस्तो होला भन्ने आसा पनि पलाएको थियो ।

स्वीजरल्याण्डको जुरिच सहर देशको राजधानी नभए तापनि त्यो देशको सबैभन्दा ठुला सहर रहेछ । हामीले त्यहाँ २४ घण्टाको सार्वजनिक यातायातको साधनका लागि टिकट लिएका थियौँ । त्यसलाई पूर्णरुपमा उपयोग गरेजस्तो लाग्छ । त्यही टिकट प्रयोग गरेर हामी बस चठ्यौं, ट्रमा, रेल चढ्यौँ, रमणीय तालमा ठुलो डुङ्गा (पानी जहाजमा) सयर गरौँ । करिब बाह्र पन्ध्र पटक त्यहाँको केवल कारको यात्रा र जङ्गलको पैदल यात्रा पनि सधैँभरि दिमागमा ताजै रहला जस्तो लाग्छ । तिम्रो आधुनिक प्रविधिमा भएको कुशाग्र सीपले हाम्रो यात्रालाई अति सहज बनाइ रहेको थियो । अनलाइनबाट बुकिङ गरेको तीन तारे होटेल र त्यस होटेलको ब्रेकफास्ट पनि सम्झना योग्य थियो । पहिलो दिन घाम मात्रै लागे । दोस्रो दिन लगभग दिनै भरि जस्तो बाक्लो कुहिरो लागे पनि धन्न पानी भने परेन । त्यसरी रमाइलोसँग हामीले स्वीजरल्याण्डको घुमाइलाई अन्त गर्दै जर्मनको आर्थिक राजधानी (फाइन्यान्सियल क्यापिटल भनिने) विशाल सहर फ्रेङ्कफर्ट तर्फ लागेका थियौँ । 

फ्र्यान्कफ्रर्टमा भात्र्जा टंकुले आफ्नो व्यस्त दिनचर्यालाई थाती राखेर बसपार्कसम्म नै आफै गाडी लिएर हामीलाई स्वागत गर्न पुग्नु भयो । वहाँकोमा पुग्दा अर्कै प्रकारको आनन्दको अनुभूति भएको थियो । वहाँकोमा दुई दिनको बसाइ र वहाँहरूले देखाउनु भएको आत्मीयता कहिले पनि नभुलिने भएको छ । झरीको दिन भए पनि भान्जा र भान्जी दुवै करिब चालिस किलोमिटर लम्बाइ र सोही अनुसारको चौडाइमा गरिएको अङ्गुर खेती र त्यहाँको ऐतिहासिक स्थल देखाउन घण्टौँको दूरी मोटर आफै मोटर हाँकेर पुग्नु भयो । पुर्‍याउन भयो । घुमाउनु भयो । त्यहाँको सताब्दिऔं पुरानो ढुङ्गामा कुदिएको मूर्ति वास्तवमा अद्वितीय नै थियो । ठूलाठूला ढुङ्गाले बनेको त्यो अजङ्गको मूर्ति बनाउँदा त्यत्रा दसौँ बिसौँ कुण्टलाका ढुङ्गा कसरी त्यति वेला ल्याइयो र त्यसरी माथि माथि चढाएन सम्भव भयो होला । रहस्य नै छ । यसले इजिप्टको पिरामिडलाई सम्झाएको थियो । सोठाँउमा गरिएको केबलकारको यात्रा पनि स्मरणीय छ ।

हामीले फ्रयाङ्कफर्ट छाड्ने दिन समेत टंकुदाईले नानी, म र आमालाई सहरका विभिन्न ठाउँमा घुमाउन लग्नु भयो । मनोज बाबुले रेल स्टेसनसम्म छाड्न आएर आत्मीयता देखाउनु भयो । दुईवटा साना बाबुहरू नेक्सन र माहात्म्यले नेपालका परिचित र घुलमिल भई रहेको परिवारको अनुभूति गराए । त्यहाँबाट छाडेर हिँडेपछि हामीलाई उनीहरूलाई कहिले भेटिने होला भन्ने लागिरहने जिज्ञासु बनाए, ती दुई बाबुहरूले । त्यो परिवारसँग जर्मनीरहदा निकै लामो सहकार्य हुन्छ कि भन्ने अनुमान थियो । तथापि साह्रै धेरै व्यस्त रहन पर्ने अवस्थामा पनि भाञ्जाभाञ्जीको आत्मीयता उल्लेखनीय भयो । तिम्रो जर्मनीको बसाइमा अभिभावकत्व दिने र सहजीकरण गर्ने ती दाईभाउजुलाई मैले करिब १० वर्ष पहिला पनि मेरा कार्यालयका चार जना साथी समेत लिएर गएर झमेला गराएको थिए । वहाँहरूको हामी प्रतिको आत्मीय व्यवहार सधैँ कायम रहोस् भन्ने कामना गरिरहन मन लाग्छ ।

तिम्रो पहिलाको योजनाअनुसार युरोपको घुमघाम करिब त्यति नै थियो । फेरि चेक रिपब्लिकको प्राग र पोल्यान्डको रोक्लावसम्मको यात्राको योजना बनायौ । दोस्रो चरणको त्यो यात्रा पनि औधी नै रमाइलो भएको थियो । अपार्टमेन्टमा जाने आँफेले सबै कुरा लग्ने पकाउने र खाने अनि भाँडा माझ्ने । हामीले यी यात्राका दिनहरूमा भात र दाल पकाउने प्रेसरकुकर आँफे लिएर गयौँ ।हल्का खानेकुरा, तेल, बेसार मसला आदि सबैजसो लिएर गएका थियौँ । सामान्यतया खाना आमाले नै पकाउने गर्थिन तापनि फुर्सदमा सबैले सहकार्य गरिएको थियो । मैले त त्यसरी विदेशमा त्यसमा पनि युरोपमा जहाँ गए पनि आफै खाना बनाउन र आफ्नै स्वादको खाना खान पाइन्छ भनेर कल्पनै गरेको थिइन ।

त्यसैले पनि होला कहीँको कुनै यात्रा पनि पट्याइ लाग्दो भएन । त्यसरी खाना पकाउँदा अरू धेरै फाइदा हुँदो रहेछ । त्यो देशमा एक किलो चामललाई यति पर्थ्यो । यहाँ यति पर्दो रहेछ । चिकेनको मूल्यमा यति अन्तर देखियो आदि इत्यादि हाम्रो घण्टौँसम्म पनि त्यस्ता गफ हुन्थे । ठूलाठूला डिपार्टमेन्ट स्टोर, ग्रोसरीहरू र फुटपाथका पसलहरूमा समेत तरकारी छानिछानी किनेको कुरा सम्झनामा रहिरहेको छ । तिमीहरू दाजु र बहिनी अलि बढी मांसाहारी खानामा जोड गर्थ्यौँ । हामी अलि कम चासो दिन्थ्यौँ तैपनि तिमीहरूको चाहनालाई त्यति इन्कार भने गरिएन ।

प्रागमा सबैभन्दा चाखलाग्दो विषय त्यहाँको चिडियाखाना थियो । एसिया कै सबै भन्दा ठुलो चिडियाखाना भनेको त कताकता सुनेजस्तो लागेको थियो । साच्चै नै  विशाल रहेछ । हामीले त्यहाँ थाहै नपाइ करिब छ घण्टा बिताइए छ । म फोटाहरू खिचिरहन त्यति रुचि नगर्ने मान्छे भएता पनि । त्यहाँको चिडिया खानाका फोटाहरू भने निकै खिँचेको थिएँ । बन मान्छेको चालचलन र जिराफहरूको त भिडियो नै खिचिएको रहेछ । कतिपय जनावर तथा जीवजन्तु त कहिले पनि नदेखेका देख्न पाइयो । त्यो दिनको दिउसोको इन्डियन रेश्टुरेण्टको नास्ताले अलि खानामा मुख फेरेर आफ्नोपनको महसुस भएको थियो । अलिअलि पानी परेको र चिसो दिन भएकोले तिमीले बाबाले मन पराउने र मौसम अनुसारको पेय पदार्थ भनी । तातो चकलेट (चकलेटको चिया) को व्यवस्था गर्दा म ज्यादै खुसी भएको थिएँ । तर अलि हतारमा पहिलो सुर्की लिँदा नै मेरो मुख नराम्रोसँग पोल्यो । त्यसको असर नेपाल फर्कँदासम्म रहिरहेको थियो ।

प्रागका ऐतिहासिक स्थलहरू पनि रोचक थिए । रमणीय पनि थिए । त्यहाँको मध्य सहरमा पुरानो बजार वा ओल्ड टाउन रहेछ । त्यहाँ पुग्दा एक अनौठो संयोग जुटेको थियो । त्यहाँको पुरानो एउटा मन्दिर जस्तो घरमा ठिक पाँच बजे बेलुकी नेपालकै मन्दिरहरूमा बज्नेजस्तो घण्टी बज्दो रहेछ । हामी त्यहाँ पाँच बज्न पाँचै मिनेट बान्की जस्तो समयमा पुगेका थियौँ । मानिसको ठुलो भिड देखेर के हो त्यो भिड भनेर हामीले चाख पूर्ण किसिमले सोध्यौँ । धेरै जनालाई सोधे पछि एक जना अङ्ग्रेजी बुझ्ने मानिसले त्यो कुरा बताए हामीले पनि उत्सुकता पूर्वक हेरियो । ठिक पाँच बजे टंकटंक गरी केहीवेर घण्टी बज्यो । मानिसहरूले हल्ला गरे रमाए । त्यसबारेमा त्यो भन्दा अरू बढी जान्ने इच्छा थियो तापनि खासै विस्तृत जानकारी पाउन सकिएन ।

अलिअलि (पिरपिर) पनि परिरहेकै बेला हामीले प्रागलाई बिदा गर्‍यौँ । अलिअलि साना साना पहाड जस्ता ढिस्काहरू छिचल्दै हामी पोल्यान्डको ऐतिहासिक सहर रोक्लाव (Wroclaw) तर्फ लागियो । तिमीले अनलाइनबाट बुक गरेको अपार्टमेन्ट बसपार्कबाट नजिकै रहेछ । कुनै साधन लिने झन्झटै गर्न परेन । रोक्लावमा गएकै दिन आमाले र नानीले साह्रै रमाई रमाइ किनमेल गर्न तम्सिए हामी पनि सँगसँगै हौसिएका थियौँ । युरोपमा पुगेका ठाउँहरूमध्ये सबैभन्दा सस्तो भन्दै रमाई रमाइ किनमेल गरेको कुरा पनि चाख लाग्दो थियो । भोलिपल्ट भने आइतबार परेकाले बजार प्राय सबै बन्द थियो । हामीलाई चामल किन्न समेत हम्मे हम्मे परेर धन्नै खानखाना बाहिर जान परेको थियो । बिदाको दिन भए पनि त्यहाँको पुरानो बजार (ओल्ड मार्केट), ऐँतिहाँसिक स्थलहरू, त्यो सहरको आत्मा भनेर बुझिने अडर नाम गरेको नदी आदि स्थानहरू रमाई रमाइ हेरेका थियौँ । त्यो दिनको दिउसोको नास्ता हामीले नेपाली रेश्टुरेणटमा नै खायौँ । 

तिमी जर्मनको बर्लिनमा थियौ ता पनि यसरी हामी छिमेकी मुलुकहरू समेत मज्जाले घुमियो । जर्मनीमा हेर्नका लागि सबै भन्दा कौतुहलताको स्थान बर्लिन् पर्खाल थियो । गएको भोलिपल्ट नै तिमीले त्यहाँ हामीलाई पुर्‍याएर सविस्तार घुमाएका थियौँ । बर्लिनका ऐतिहासिक मूर्ति र तिनमा कुदिएका कला, नेपालको वसन्तपुरमा जस्ता  परेवाहरूका बथान, मान्छेको हातमा नै बसेर चाहारा खान रुचाउने ती परेवाहरू र ग्लोबल प्रकृतिको इन्डिएन रेस्टुरेन्ट स्मरणमा रहिरहेको छ । अझ सबै भन्दा सम्झना योग्य कुरा त त्यहाँको प्राइम मार्केट हुन पुग्यो । तिमीलाई पनि थाहा नभएको नवीन भाइले भनेपछि हामी त्यहाँ पुगेका थियौँ । नेपालीको हैसियतले अलिअलि किन्न सिकिने बजार त रहेछ भन्दै लगभग एक दिन हामीले त्यहाँ बिताएका थियौँ ।

तिमी वस्नेठाउँवाट अलि जाँगर गरेमा हिँडेर नै पुगिने स्पाण्डौं सहर हाम्रालागि सर्वाधिक स्मरणीय भयो । जता जान पर्‍यो भने पनि त्यहाँ पुग्ने पर्ने रहेछ । त्यहाँका ससाना  गल्ली र पसलहरु हामीले एक एक चाहारौं । सुधालाई त त्यहाँको बारेमा सायद तिमीलाई भन्दा बढी जानकारी होला जस्तो लाग्छ । हामी स्पाण्डौं भन्दा करिब एक घण्टा बसको यात्रामा पोश्डाम भन्ने सहर पनि गएका थियौँ । त्यहाँको पार्क साँचै नै विशाल र सफा थियो । त्यो सहरमा हामीले करिब एक दिन नै बिताएको भए तापनि खासै किनमेल भने गरिएन । घर बस्ने अपार्टमेन्ट सँगै रहेको नेटो ग्रोसरी त हामी तिनै जानाका लागि सहज पसल भई सकेको थियो । भान्छामा केही सकियो कि नेटो गएर आइहालौँ, भोक लाग्यो कि नेटो गएर आइहालौँ आदि । बस्ने ठाउँ नजिकैको तालले पनि मलाई निकै आकर्षण गरिसकेको थियो । बिहानीको योग र प्राणायाम गर्न परे त्यतै लम्किने भई सकेको थिएँ । त्यहाँ पाइने विभिन्न प्रजातिका हाँस र चराहरु अत्यन्तै मानव मैत्री रहेछन् जति मानिस तालको किनारा नजिक जान्छन् खाना केही ल्याइदिए भनेर हररै आउने । दिएको खान हातबाट नै खोसेर खाने । साँचै न मनमोहक थियो ।

यसरी हामीले करिब एक महिना जर्मनीमा सपरिवार बिताइयो । यो वर्ष हाम्रो दशैं तिहारको टिका थिएन । ती दुवै चाडहरू जर्मनी मै बित्ते । हामी त्यहाँबाट हिँड्दा निकै खुसी भएर हिंडका थियौँ । एयरपोर्टमा तिमी छुटेपछि तिम्री आमा अलि धेरै मलिन भइन । धेरैवेरसम्म आँसु झार्दै तिमीलाई त्यतै हरिरहिन । अलि बोली बसेको, भक्कानिएको जस्तो गरी, सागर गयो ? सागर देखिएन क्यारे गयो ? भनिरहिन । यहाँ नेपालको घरबाट हिँडेदेखि तिमी नछुट्दासम्म उनी खुसी थिइन । पटक पटक तिम्रो र सुधाको मात्र कुरा गर्थिन । तर फर्कँदा भने त्यस्तो केही कुरा गर्न सकिनन् । बाटाको लामो ट्रान्जिटमा समेत पटक्कै खुलिनन् । यहाँ आएपछि सहज देखिएकी छन् । सायद यो कुरा उनलाई हेक्का छैन होला । मैले बर्लिनवाट दोहासम्म आइपुग्दा जहाजमा बक्कले चान्स (Buckley’s Chance) भन्ने मुभी हेरेँ । त्यसमा बाबुआमा र छोराको कथा रहेछ । त्यो मर्मस्पर्शी कथाले पनि ममी धेरै चिन्तित भएको विषयलाई स्वाभाविकै रूपमा लिएको छु ।  

हामी नेपालमा फर्किन एयरपोर्टमा आउँदा अपरझट कोरोनाको परीक्षण गर्न पर्ने अवस्था आयो । ठुलो रकम तिर्न पर्‍यो । ती र त्यस्ता कुनै विषयलाई पनि सहजरुपमा स्वीकार गर्ने क्षमता तिमीमा विकास भएको पाएँ । तिमी पौरखी बन्यौ । पाको व्यवहार पनि देखायौँ । छोटै समयमा राम्रो जागिर गरेर यो हाम्रो निम्ति अकल्पनीय घुमघाम गराएकोमा पुनः धन्यवाद छ तिमीलाई ।

युरोप यात्राका अन्य थुप्रै विषयवस्तु बारम्बार सम्झनामा आइरहेका छन् । अदृश्य पैसा र त्यसको अदृश्य कारोबारमा तिम्रो निपुणता तर मेरो असक्षमताको विषयले पुस्तान्तर मात्र होइन तिम्रो पठनपाठनको विषयमा निखार आएको प्रतीत हुन्छ । कतिपय पक्षमा हामीमा भन्दा तिमी र तिम्री बहिनीको सोचमा फरक परिरहेको मात्र होइन हाम्रो भन्दा भिन्न विषयमा तिमीहरू दुई जनाको कुरा मिलेको विषय हाम्रो निम्ति खुसीको कुरा भएको छ कहिले काही मैले ×यो सागर त जति वेला पनि साह्रै रिसाउने भएछ । यसले अलि खानपिनमा ख्याल गर्दैन जे पनि खान्छ त्यसो  भएर त होइन” भन्दै गर्दा सुधाले सोझै इन्कार गर्दै ×तपाइले कुरै बुझ्नुहुन्न उसलाई भोक लागे पछि रिसाउँछ । तपाइ पनि त्यसै गर्नुहुन्छ । त्यो पनि त्यस्तै छ। अझ ममी त के कुरा ।” भन्थिन ।

त्यहाँबाट फर्केपछि तिमी प्रति मेरो निश्चित धारणा बनेको छ । अव आफ्नो जीवनका लागि राम्रोसँग पाकोपन (म्याचुरिटी) विकास भएछ भन्ने लागेको छ । तिम्रो सूचना प्रविधि सम्बन्धी जागिर (क्लाउड इन्जिनियर) समसामयिक छ । अहिलेको संसार सूचना तथा सञ्चार प्रविधि कै हो । त्यसै विषय क्षेत्रमा तिम्रो दखलता बढ्दै गएको छ । त्यसको कुनै एउटा विधामा निपुणाता प्राप्त गर्दै जानु समय सान्दर्भिक कुरा नै हो । त्यो क्षेत्रले जति संसारलाई चकित पारिरहेको छ । उति नै सशङ्कित पनि पारिरहेको छ । आगामी युगको छुट्टै साम्राज्यको खेल भनेर जानकारहरूले आलोचना पनि सँगसँगै गरिरहेका छन् । यो अदृश्य प्रविधिले पुस्तान्तर गरायो नै । प्रविधिमा निपुणता प्राप्त गर्दै गरेका युवायुवतीहरू एकोहोरा, विषयवस्तु सेयर गर्न पटक्क गर्न नखोज्ने, स्वार्थी र खुनी बन्दै गएको भन्ने गुनासाहरू पनि सुन्न पाइन्छ । त्यसै गरी सुशासनको पक्षमा नकारात्मक प्रभाव पार्न थालेको र प्रविधिमा दक्षता र पहुँच भएकै कारण त्यसको चरम दुरुपयोग भएका घटनाहरू पनि साइबर क्राइमको रूपमा बाहिर आउने गरेका छन् ।

हामीलाई लागिरहेको छ अहिले हामीले प्रयोग गर्ने गरेका सञ्चारका माध्यमहरू म्यासेन्जर, भ्याइबर, व्हाटसएयाप, इमेल, इन्टरनेट, फेसबुकहरू हाम्रा व्यक्तिगत सूचना, जानकारी र कुराकानी आदानप्रदान गर्न पूर्ण सुरक्षित छन्; गोपनीयतामा कुनै शङ्का छैन । तर कुरा त्यसो होइन छ । ती सबै सूचनाहरू कसैको पहुँचमा छन् । जुनसुकै वेला त्यसको सदुपयोग र दुरुपयोग हुन सक्ने रहेछ । सायद यस्तै कारणले पनि हो कि त्यहाँ धेरैजसो व्यक्तिगत सूचना तथा जानकारी प्रिन्ट गरेर सम्प्रेषण गरिने गरेको । तिमीले भने जस्तो हुलाक सेवालाई अझ जीवन्त बनाएको ।

भूगोलमा आधारित आजको राज्य व्यवस्था स्पेसमा आधारित । राज्यमा रुपान्त्रण हुने सम्भावना देखिँदै छ । अदृश्य मुद्रा र तथ्यतथ्यङ्कका कारणले राज्यका सीमा काम नलाग्ने हुन लागि सकेका छन् । यो शून्य (स्पेस)मा आधारित प्रविधियुक्त संसारमा होमिएका तिमीहरूजस्ता युवाहरूले आफ्नो यान्त्रिक जीवन शैलीलाई कसरी मानवीय रूपमा विकसित गर्दै जाने भन्ने कुरा पनि चुनौतीपूर्ण छ ।

तिमीले नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीमा जागिर गर्ने भनेर जुन कुरा भनेका थियौ । यो एक महिनाको बसाइमा त्यो विषयमा छलफल त भएन । तर मेरो मनमा अलि चिसो पसेको छ । तिम्रो सोच र व्यवहार नजिकबाट हेर्दा नेपालमा सहजै फर्किने जस्तो लागेन । हामीलाई चाडपर्व आउनासाथ तिम्रो याद आउनु स्वाभाविक हो, छोरा समिप्य मै रहेर काम खटिनु सन्तोषकै कुरा होला । यस विषयलाई मैले त्यति महत्त्व दिएको छैन । बुझ्न पर्ने कुरा त के हो भने । व्यक्तिको पहिचान र मूल्य आफ्नै देशमा बढी हुन्छ । उसको व्यक्तित्व विकास आफ्नै संस्कार र संस्कृतको घुलनबाट तीव्र हुन्छ । हामी सानो छँदा मान्यजनहरूले दसैँमा टिका लगाइदिँदा संस्कृतको श्लोक सकेपछि आशीर्वाद दिँदा डाक्टर बनेस्, इन्जिनियर बनेस्, वकिल बनेस् भनेर आशीर्वाद दिनुहुन्थ्यो । पछिल्लो समयमा नेता (मन्त्री) बनेस्, कलाकार बनेस्, पत्रकार बनेस्, व्यापारी बनेस् पनि भन्न थालियो । म हुर्कँदै गएँ, समाजलाई नियाल्दै गएँ । अहिले मलाई ती आशीर्वाद पनि दिऊँ जस्तो लाग्दैन ।

तिम्रो संचारजगतका विश्वव्यापी संस्थाहरूसम्म जागिरमा पहुँच हुने इच्छा पूरा होस । आत्मबल बलियो बनाउनु । मिहेनत गर्न नछाड्नु एक दिन उद्देश्य पूरा हुन्छ । तर मातृभूमिको माटोलाई नभुल । नेपालमै र घर गाउँमा बसेर संसारलाई चाहर । तिमीले युरोप तिर पढ्न जाने वेला भने जस्तो नेपालमा नै बसेर अन्तर्राष्ट्रिय कम्पनीमा जागिर खान सम्भव रहेछ । त्यसरी जागिर खाऊ तर आफ्नो रैथाने भूमि नभुल । घरपरिवार, इष्टमित्र, साथीभाइ, छिमेकी सबै सँग घुलमिल हुँदै व्यक्तित्वको विकास गर । माथि उल्लेख गरेजस्तो सूचना तथा सञ्चार प्रविधिसँगै देखिएका विकृति र चुनौतीलाई सामना गर्ने कुरामा योगदान गर ।  यही मेरो शुभआशिर्वाद छ । तिम्रो हजुरबा र हजुर आमाको साह्रै धेरै पर्खाइ पछि मेरो विवाह भएको थियो । मलाई लाग्छ तिम्रो जन्म हुँदा सायद तिम्रो आमा र मभन्दा बढी वहाँहरू खुसी हुनु हुन्थ्यो । अहिले वहाँहरू यस लोकमा हुनुहुन्न । धर्मशास्त्रले पितृको आशीर्वाद लाग्छ भन्छ । त्यसमा विश्वास गर, वहाँहरूको बशिर्वाद तिमीलाई प्राप्त हुनेछ ।

तिम्रो बाबा

Tags :
प्रतिक्रिया दिनुहोस