चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा अधिकृत ठाकुरको पुनःबहाली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा अधिकृत ठाकुरको पुनःबहाली


२२ मंसिर २०७९, बिहिबार


 काठमाडौँ । श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पूजा चन्द ठाकुरलाई पुनःबहाली गर्ने फैसला गरेको छ ।

अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलासले यही मंसिर १४ गते पुनःबहाली गर्ने फैसला गरेको हो ।

हाइड्रोपावरले बर्खास्त गरेपश्चात् पुनःबहालीको माग गरी श्रम अदालतमा चलेको मुद्दामा चार वर्षपछि ठाकुरलाई सेवाबाट हटाएको मितिदेखि पारिश्रमिक तथा सम्पूर्ण सेवा सुविधासहित पुनःबहाली गर्न भनिएको छ ।

वि.सं. २०७५ मंसिर ७ गते ठाकुरलाई हटाउने निर्णय गरिएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै ठाकुरले जिल्ला अदालत  काठमाडौँ, श्रम तथा रोजगार कार्यालय  काठमाडौँ, श्रम अदालतलगायत निकायमा लामो समयदेखि मुद्दा खेप्दै आएकी थिइन् ।

व्यवस्थापन पक्षले पदमा समेत सम्झौता नगरी काममा लगाएको र सेवाबाट हटाउँदा सूचना नदिई हटाएकाले व्यवस्थापनको निर्णय गैरकानुनी भएको हुँदा उक्त निर्णय बदर भएको जनाइएको छ ।

अदालतको फैसलाबमोजिम ठाकुरको सेवामा पुनःबहाली नभएसम्मको पारिश्रमिक, सेवा, सुविधा समेत गरी करिब एक करोड रुपैयाँ दिन र सेवामा पुनःबहाली गर्न आदेश भएको छ । श्रम ऐन, २०७४ को कानुनी व्यवस्थाविपरीत सेवाबाट हटाएको अवस्थामा उक्त ऐनको दफा १७२ (१) बमोजिम सेवामा पुनःबहाली भई सेवा सुविधा पाउने कानुनी व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस