भ्रष्टाचार मुद्दामा निलम्बित गाउँपालिका अध्यक्ष कामकाजमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार मुद्दामा निलम्बित गाउँपालिका अध्यक्ष कामकाजमा


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यकारी हैसियतमा कामकाज गर्न थालेपछि विवाद भएको छ ।

भ्रष्टाचार मुद्दामा निलम्बन भएकै अवस्थामा पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायले अदालतबाट सफाइ पाएको दाबी गर्दै कार्यपालिका बैठक बोलाएर नीतिगत निर्णय गर्न थालेपछि अन्य जनप्रतिनिधिले विरोध गरेका छन् ।

उपाध्यायले पालिका अध्यक्षको हैसियतमा असोज ३० गतेदेखि कामकाज गरिरहेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए । तर उनी निलम्बनमा रहेको वा निलम्बन फुकुवा भइसकेको विषयमा भने सार्कीले पछि कुरा गर्ने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे ।

पदभार सम्हाल्दै यसअघि एउटा कार्यपालिका बैठक बोलाइसकेका अध्यक्ष उपाध्यायले १४ मंसिरमा पनि कार्यपालिकाको बैठक बोलाएका थिए । तर कार्यपालिका सदस्यहरुले निलम्बन फुकुवा भएको वा विशेष अदालतबाट सफाइ पाएको कागज पत्र देखाउन माग गरेपछि बैठक बस्न नसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

मोहन्याल गाउँपालिका–४ का वडाध्यक्ष बसन्त बुढाले उपाध्यक्ष कमलबहादुर साउँद लगायतका जनप्रतिनिधिले अदालतले कामकाज गर्न दिनू भनेर लेखी पठाएको पत्र देखाउन आग्रह गरेको बताए । अध्यक्ष उपाध्यायले पत्र देखाउन नसकेपछि कार्यपालिका बैठक बस्न नसकेको उनको भनाइ छ ।

पालिका अध्यक्ष उपाध्यायले आफ्नोविरुद्ध सर्वोच्च अदालतमा कामकाज गर्न रोक लगाउन माग गर्दै परेको रिट निवेदन खारेज भएकाले काम गर्ने बाटो खुलेको बताउँदै आएका छन् ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उपाध्यायविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले अध्यक्षको हैसियतमा काम गर्न नपाउने जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङले उपाध्याय अहिले पनि निलम्बनकै अवस्थामा भएकाले अध्यक्षको हैसियतमा कामकाज गरेको पाइएमा पक्राउ गरेर कारबाही गरिने बताए ।

३० वैशाखमा नेकपा माओवाली केन्द्रबाट मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई तत्कालीन वडा नम्बर २ को अध्यक्ष भएका बेला भ्रष्टाचार मुुद्दा लागेको थियो । उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस