एमालेसँगको तालमेल सकियो, नयाँ ढङ्गले कसरी जाने भन्ने छलफल हुन्छ : उपेन्द्र यादव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेसँगको तालमेल सकियो, नयाँ ढङ्गले कसरी जाने भन्ने छलफल हुन्छ : उपेन्द्र यादव


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसाबले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिएका हुन् ।

‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौँ । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्‍यौँ, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढङ्गले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताए । 

अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।

यादवले डेमोक्रेटिक रेभुलेसनले ल्याएको उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि त्यसका पक्षपातीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

यस्तै ​यादवले अहिले सत्तापक्ष र प्रतिपक्षको कित्तामा उभिने निर्णय गरिनसकेको बताए । 

यादवले संविधानमा उल्लेखित निर्वाचन प्रणाली, शासकीय स्वरूप, न्यायिक प्रणाली, समावेशीकरण, पहिचानका सवाल र प्रदेशका अधिकार सम्पन्न बनाउने कुराहरू संशोधन नगर्ने हो भने सिस्टम नै कोल्याप्स हुनसक्ने बताए । यस्तै अहिले मुलुक आर्थिक रूपमा निक्कै तल गएको पनि उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस